काठमाडौँ। मिन्द्र बहादुर माझी (रेशम) सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। हाल उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर बिजनेस म्यानेजरका रूपमा कार्यरत छन्। ३१ वर्षीय माझीको यहाँसम्मको यात्रा यति सहज भने थिएन — गरिबी, संघर्ष र निरन्तर मिहिनेत पार गर्दै उनी आज बीमा क्षेत्रमा स्थापित नाम बनेका छन्।
रेशम एसएलसी उत्तीर्ण गरेपछि राम्रो भविष्यको खोजीमा काठमाडौँ आएका थिए। उनले काठमाडौँमा करिब दुई वर्ष जति एउटा कपडा पसलमा काम गरे। तर कपडा पसलमा काम गरेको थोरै तलबले कोठा भाडा, खाना र दैनिक खर्च धान्न पनि मुस्किल पथ्र्यो। बचत गर्ने त परको कुरा, भविष्यप्रति अन्योल नै बढ्दै गयो।
यहाँसम्म कि कपडा पसलमा काम गर्दा रेशमसँग गाडी चढ्नसमेत पैसा हुन्थेन। उनी दैनिकजसो न्युरोडबाट बानेश्वरसम्म हिँडेर यात्रा गर्थे। ती दिनहरूका संघर्षलाई सम्झिँदा रेशम आज पनि भावुक हुन्छन्।
त्यसपछि उनी गाउँ फर्किए। रेशमले काठमाडौँमा सिकेको अनुभव प्रयोग गर्दै गाउँमै कपडा पसल पनि सुरु गरे। यही क्रममा उनलाई पढाएका एक शिक्षक बीमाको प्रस्ताव लिएर आए। आजभन्दा करिब ११ वर्षअघि रेशमको नेशनल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको यात्रा यहीँबाट सुरु भएको थियो।
आफ्नो शिक्षकका माध्यमबाट अभिकर्ता पेशामा जोडिएका रेशमले माझी समुदायमा बीमाले राम्रो प्रभाव पार्न सक्छ भन्ने विश्वासका साथै केही व्यक्तिलाई बीमा गराए। यो २०७० सालतिरको कुरा हो। त्यो समय उनी भर्खर २० वर्षका मात्र थिए।
कपडा पसल श्रीमतीको जिम्मा लगाउँदै अभिकर्ता बने रेशम
रेशमले काठमाडौँमा कपडा पसलमा काम गरेर सिकेको अनुभव संगाल्दै गाउँमै सुरु गरेको कपडा पसल चलाउन उनकी श्रीमतीले साथ दिइन्। उनी पसलको कामले गर्दा सुरुमा बीमामा केन्द्रित हुन सकिरहेका थिएनन्। अन्ततः २०७४ सालमा कपडा पसलको जिम्मा श्रीमतीलाई सुम्पेर उनले औपचारिक रूपमा कम्पनीबाट बीमा अभिकर्ताको तालिम लिए र पूर्णकालीन रूपमा बीमा यात्रामा होमिए।

सुरुको करिब ३ वर्षको अभिकर्ता अवधि निष्क्रिय जस्तै थियो। तर औपचारिक रूपमा तालिम लिएर जब उनी बीमामै पूर्ण समर्पित भए, उनका दिनहरू फेरिए।
उनी तालिमका बेला बी.पी. रेग्मी सरले भनेको एउटा कुरा भने कहिल्यै नबिर्सने बताउँछन्।
“बी.पी. रेग्मी सरको एउटा भनाइ आज पनि मेरो प्रेरणा बनेको छ। सरले भन्नुहुन्थ्यो — समुद्रमा डुब्दै नडुब्नु, डुबेपछि मोती लिएर आउनु।” माझी भन्छन्, “म संघर्षको समुद्रमा डुबें र मोती लिएर फर्किएँ। मैले २०२४ मा एमडीआरटीको उपाधि पनि पाएँ।”
“बीमा व्यवसाय मात्र होइन, सामाजिक सेवा पनि हो।”
बीमा क्षेत्रमा काम गर्दा उनले एउटा यस्तो घटना भोगे, जसले उनको सोच नै बदलिदियो। केही वर्षअघि दोलखाबाट व्यापारका लागि आएका एक व्यक्तिलाई उनले बीमाको प्रस्ताव राखेका थिए। “भाइ, छोरीको जन्मदिन सकिएपछि बीमा गराउँछु,” ती व्यक्तिले भनेका थिए। छोरीको जन्मदिनको भोलिपल्ट उनले बीमा पनि गराए।
तर तीन वर्षपछि ती व्यक्तिको असामयिक निधन भयो। समस्या तब आयो, जब बीमा कागजात, नागरिकता र मृत्यु दर्ता प्रमाणपत्रमा मृतकको नाम फरक–फरक देखियो। यसले गर्दा परिवारले बीमा रकम पाउने अवस्था बनेन। माझीले वडा कार्यालय, सचिव र सम्बन्धित निकायसँग समन्वय गरेर तीनवटै नाम एउटै व्यक्तिको हो भन्ने सिफारिस गराए। अन्ततः परिवारले बीमा रकम पायो।
“त्यो दिन चेक हस्तान्तरण गर्दा महसुस भयो— यदि मैले तीन वर्षअघि उहाँलाई बीमाको महत्व नबुझाएको भए, आज त्यो परिवारको घाउमा मलमपट्टी कसरी लगाउन सकिन्थ्यो होला ?” उनी भन्छन्। यही घटनाले उनलाई बीमा केवल व्यवसाय होइन, सामाजिक सेवा पनि हो भन्ने कुरा बुझायो।
“अरूले के भन्छन् भन्ने कुराले केही फरक पर्दैन, आफ्नै प्रयासले भविष्य लेखिन्छ।”
सुरुका दिनहरू निकै कठिन थिए। बिहानदेखि बेलुकासम्म घर–घर पुगेर बीमाको महत्व बुझाउँदा अपमान पनि सहनुपथ्र्यो। धेरैले “यो कामले केही हुँदैन” भनेर हेला गर्थे। तर उनले मनमा एउटा कुरा गाँठो पारे— “अरूले के भन्छन् भन्ने कुराले केही फरक पर्दैन, आफ्नै प्रयासले भविष्य लेखिन्छ।”

समयसँगै उनी ग्राहकको आवश्यकता बुझ्न, विश्वास कमाउन र दीर्घकालीन सम्बन्ध बनाउन सक्षम भए। पहिलो पोलिसी बेच्दा पाएको सानो कमिशनले उनलाई आत्मविश्वास दियो। कहिलेकाहीँ काठमाडौँबाट साँझ ७ बजे फर्किँदा बाटोमै बाइक बिग्रिन्थ्यो, कहिले त राति १ बजे मात्र घर पुग्थे। तर मनमा एउटै भावना हुन्थ्यो— “यो मेरो जिम्मेवारी हो।”
आज उनी बीमा क्षेत्रमा काम गरेको ११ वर्ष पूरा गरिसकेका छन्। हाल अभिकर्ताबाट मात्रै पनि उनी मासिक औसतमा १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। Chairperson Club का सदस्यका रूपमा उनी निरन्तर पाँच वर्षसम्म आबद्ध भए। २०७९/८० मा व्यक्तिगत कोडतर्फ सिन्धुली शाखा प्रथम र सञ्जालतर्फ द्वितीय भएका छन्।
युवालाई सन्देश
बीमा अभिकर्ता मिन्द्रबहादुर माझी युवाहरूलाई विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिन चाहन्छन्। “हामीजस्ता युवाले वार्षिक १०–१२ लाख कमाउन विदेश जानैपर्छ भन्ने सोच गलत हो,” उनी भन्छन्, “बीमा क्षेत्रमा मेहनत गर्ने हो भने नेपालमै सुरक्षित र सम्मानजनक आम्दानी सम्भव छ।”
गरिब परिवारबाट सुरु भएको उनको यो यात्रा आज हजारौँ परिवारको भविष्य सुरक्षित गर्ने जिम्मेवारीमा रूपान्तरण भएको छ। संघर्ष, धैर्य र इमानदार सेवाको बलमा अघि बढेका माझीको कथा केवल व्यक्तिगत सफलताको मात्र होइन, बीमा क्षेत्रको सामाजिक महत्व र सम्भावनाको सशक्त उदाहरण पनि बनेको छ।







