काठमाडौँ। विवाह जस्तो महत्वपूर्ण अवसरमा सुन, लत्ताकपडा वा नगद उपहार दिने चलन सामान्य मानिन्छ। तर रामेछापमा एक दाजुभाइले आफ्नी बहिनीको विवाहमा फरक र दूरदर्शी सोच प्रस्तुत गर्दै नवविवाहित जोडीलाई बीमा उपहार दिएका छन्।
रामेछाप नगरपालिका–९ का समर बहादुर माझी र नमास माझीले आफ्नी बहिनी बसन्ती माया माझीको विवाहमा बहिनी र ज्वाइँ दुवैको जीवन बीमा गरिदिएका हुन्। बहिनीको सुखद भविष्य र आर्थिक सुरक्षालाई ध्यानमा राख्दै उनीहरूले यस्तो निर्णय लिएको बताएका छन्।
दाजुभाइ समर बहादुर–फुलमाया दम्पती तथा नमास–सुनिता दम्पतीका अनुसार विवाहपछि नयाँ जीवन सुरु गर्ने जोडीका लागि दीर्घकालीन आर्थिक सुरक्षा महत्वपूर्ण हुन्छ। “हामीले बहिनीलाई केवल भौतिक उपहार मात्र होइन, भविष्यका लागि सुरक्षित आधार दिन चाह्यौँ।” उनीहरूको भनाइ छ।

उनीहरूले बहिनीसँगै मकवानपुरको बकैया गाउँपालिका–७ का ज्वाइँ श्याम कृष्ण माझीको पनि जीवन अमृत आजीवन पोलिसी (५ लाख) बीमा गराएका छन्। यसबाट दुवै जनालाई भविष्यमा आइपर्न सक्ने जोखिमको सामना गर्न आर्थिक सुरक्षा मिल्ने विश्वास गरिएको छ।
बीमा सचेतना ग्रामीण तहसम्म विस्तार हुँदै गएको सन्दर्भमा यो पहललाई समुदायले सकारात्मक रूपमा लिएको छ। नेशनल लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता मिन्द्र बहादुर माझी (रेशम)ले विवाहमा बीमा उपहार दिने कदम अत्यन्तै प्रशंसनीय र उदाहरणीय भएको बताए। उनका अनुसार यस्ता प्रयासले समुदायमा बीमाप्रति विश्वास र सचेतना अझ बढाउनेछ।
पछिल्ला वर्षहरूमा जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई बचत र भविष्य सुरक्षाको भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै गएको छ। यसै सन्दर्भमा रामेछापको यो घटना समाजमा सकारात्मक सन्देश दिने उदाहरण बनेको छ।







