काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने तयारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बिक्री गर्न लागेको जनाएको छ।

कम्पनीले फागुन १ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजीको ३५.२६ प्रतिशत बराबरका ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित) निष्कासन गर्न स्वीकृति प्राप्त गरेको थियो।

कुल जारी पूँजीको १० प्रतिशत, अर्थात १२ करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सेयर भोजपुर जिल्लामा स्थायी बसोबास गर्ने आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यसैगरी  सार्वजनिक निष्कासन गरिने सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरका ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।

यस्तै ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँ बराबरका १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूका लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात ६० लाख ६१ हजार ३०० रुपैयाँ बराबरका ६० हजार ६१३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि आरक्षित गरिएको छ। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि सोही सीमा अनुसार आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन खुला रहनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भोजपुरस्थित कम्पनीको कार्यालय, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंक इन्टरनेसनलको भोजपुर शाखा तथा कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड मार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन गर्न सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ। पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ जारी गरिने कम्पनीले जनाएको छ।