काठमाडौँ। इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक उतारचढाव देखिएको छ। यसको प्रभाव विशेषगरी एसियाली देशहरूमा गम्भीर पर्ने आकलन गरिएको छ।

इरानको रिभोल्युसनरी गार्डका एक वरिष्ठ कमाण्डरलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले सोमबार हर्मुज मार्ग बन्द गरिएको र उक्त समुद्री मार्ग प्रयोग गर्ने जहाजमाथि कारबाही हुन सक्ने चेतावनी दिइएको बताएका छन्।

ओमान र इरानको बीचमा पर्ने हर्मुज जलडमरू विश्व तेल आपूर्तिको प्रमुख नाका हो। ऊर्जा परामर्शदाता संस्था केपलरका अनुसार सन् २०२५ मा दैनिक करिब १ करोड ३० लाख ब्यारेल तेल यही मार्ग हुँदै ओसारपसार भएको थियो, जुन समुद्री मार्गबाट हुने कच्चा तेल व्यापारको करिब ३१ प्रतिशत हो।

यदि अवरोध लामो समयसम्म जारी रह्यो भने कच्चा तेलको मूल्य अझै उकालो लाग्ने विश्लेषण गरिएको छ। केही विज्ञहरूले प्रतिब्यारेल मूल्य १०० अमेरिकी डलर नाघ्न सक्ने अनुमान गरेका छन्। हाल कच्चा तेलको मूल्य करिब ८० डलर प्रतिब्यारेल पुगेको छ, जुन द्वन्द्व सुरु भएयता झन्डै १० प्रतिशतले बढेको हो।

खाडी क्षेत्रबाट विश्वभर निर्यात हुने करिब २० प्रतिशत प्राकृतिक ग्यास (एलएनजी) पनि जोखिममा परेको छ। विशेषगरी कतारबाट हर्मुज मार्ग हुँदै हुने आपूर्तिमा असर पर्ने देखिएको छ।

विश्वकै प्रमुख एलएनजी निर्यातकर्ता कतारले इरानी ड्रोन आक्रमणपछि आफ्ना संरचनामा क्षति पुगेकाले उत्पादन अवरुद्ध भएको जनाएको छ। उच्च आयात निर्भरता भएका थाइल्याण्ड, भारत, दक्षिण कोरिया र फिलिपिन्सलाई बढी असर पर्न सक्ने उल्लेख गरिएको छ। दक्षिण एसियामा एलएनजी आपूर्तिमा अवरोध गम्भीर बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।

पाकिस्तानले आफ्नो ९९ प्रतिशत एलएनजी आयात कतार र युएईबाट गर्छ भने बंगलादेशले ७२ प्रतिशत र भारतले ५३ प्रतिशत एलएनजी त्यही क्षेत्रबाट ल्याउँछन्। सीमित भण्डारण क्षमताका कारण पाकिस्तान र बंगलादेश थप दबाबमा पर्न सक्ने बताइएको छ।

हर्मुज मार्ग १०–१२ दिन अवरुद्ध भए पाकिस्तानले रेड सी मार्ग प्रयोग गर्न सक्ने सम्भावना औंल्याइएको छ। बंगलादेशमा हाल दैनिक १ अर्ब ३० करोड क्युबिक फिटभन्दा बढी ग्यास अभाव रहेको उल्लेख गरिएको छ।

भारतमा पनि यसको प्रभाव पर्ने आँकलन गरिएको छ। भारतको आधाभन्दा बढी एलएनजी आयात खाडी क्षेत्रबाट हुन्छ भने करिब ६० प्रतिशत कच्चा तेल मध्यपूर्वबाट आयात गरिन्छ। दीर्घकालीन अवरोधले आयात लागत र चालु खातामा दबाब बढाउन सक्छ।

भारतले रसियाबाट तेल आयात पूर्ण रूपमा बन्द गरेको छैन। रोयटर्सका अनुसार गत जनवरीमा रसियाबाट आयात सन् २०२२ यताकै न्यून थियो। तर टाइम्स अफ इन्डियाका अनुसार फेब्रुअरीमा भने भारतले सबैभन्दा धेरै तेल रसियाबाट र दोस्रो स्थानमा साउदी अरेबियाबाट आयात गरेको थियो।

केही समयअघि अमेरिकासँगको सम्झौतामा भारतले रसियाबाट तेल खरिद नगर्ने प्रतिबद्धता जनाएको समाचार प्रकाशित भएका थिए। अमेरिकाले व्यापार कर (ट्यारिफ) सम्बन्धी व्यवस्थामा भारतलाई राहत दिने सहमति फेब्रुअरीको पहिलो साता भएको थियो।

हर्मुजमा समस्या लम्बिए पुनः रसिया विकल्प बन्न सक्ने सम्भावनाबारे त्यहाँका सञ्चारमाध्यमहरूले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

नेपाल पनि इन्धन आयातका लागि भारतमै निर्भर छ, त्यसैले क्षेत्रीय प्रभाव अप्रत्यक्ष रूपमा नेपालमा पनि पर्न सक्छ।

विश्वकै ठूलो तेल आयातकर्ता चीनले कतार र युएईबाट करिब ३० प्रतिशत एलएनजी तथा हर्मुज मार्गबाट ४० प्रतिशत तेल आयात गर्ने बताइएको छ। तर पर्याप्त भण्डारण क्षमताका कारण छोटो अवधिको अवरोधले चीनलाई तत्काल ठूलो असर नपर्ने आकलन गरिएको छ।