काठमाडौं। नेपाली पूँजी बजारमा आज एकैदिन दुई कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेका छन्। आज चैत ९ गतेदेखि स्नो रिभर्स लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आ–आफ्ना लक्षित समूहका लागि आईपीओ निष्काशन सुरु गरेका हुन्।

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ ल्याएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता सेयर छुट्याएको छ।

आयोजना प्रभावित स्थानीयतर्फ ताप्लेजुङ जिल्लाको सिरिजङ्गा-८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्रका स्थानीयलाई समान ४ लाख ६८ हजार ७५० कित्ता सेयर बाँडफाँट गर्ने व्यवस्था गरिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम सीमा स्थानीय बासिन्दाका लागि १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ हजार कित्तासम्म तोकिएको छ।

आवेदन प्रक्रिया अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सीआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावित स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल, ताप्लेजुङको सिरिजङ्गा–८ ९याम्फुदिन० आयोजनास्थल, नेपाल बैंक सिरिजङ्गा शाखा तथा एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

निष्काशन तालिका अनुसार आयोजना प्रभावित स्थानीयका लागि आईपीओ चैत २३ गतेदेखि वैशाख ८ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १२ गतेदेखि चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ। यस आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

यसैबीच, सोपान फर्मास्युटिकल्स लिमिटेडले श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता सेयर निष्काशन गरेको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो चरणको आवेदन अवधि चैत १२ गतेसम्म तोकिएको छ। आगामी चरणमा कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ। यस आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।