काठमाडौँ। इरानको संसदअन्तर्गत रहेको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रति लक्षित गर्दै कडा सन्देश दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले ‘स्ट्रेट अफ हर्मुज खुला रहने भए पनि त्यो सबैका लागि नभई इरानका नयाँ नियम पालना गर्नेहरूका लागि मात्र हुनेछ’ भन्ने आशय व्यक्त गरेका छन्।

विश्वका अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजबाट ठूलो परिमाणमा कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुने गर्छ। यस मार्गको प्रयोग र नियन्त्रणको विषयलाई लिएर इरान र पश्चिमी राष्ट्रहरूबीच लामो समयदेखि तनाव रहँदै आएको छ।

अजिजीले आफ्नो भनाइमा सन् १९७९ मा भएको इरानी क्रान्ति पछिको अवस्थालाई स्मरण गर्दै ‘४७ वर्षदेखि जारी रहेको आतिथ्य अब समाप्त भएको’ टिप्पणी गरेका छन्।

यसैबीच, फार्स न्युज एजेन्सीका अनुसार इरानी संसदको राष्ट्रिय सुरक्षा समितिले हर्मुज मार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ।