काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय अवस्थाले उल्लेख्य सुधारको संकेत गरेको छ। यस अवधिसम्म यस्ता बैंकहरूले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकहरूको नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँमा सीमित थियो।

नाफा वृद्धिमा मुख्यतः खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु प्रमुख कारण बनेको देखिन्छ। समीक्षा अवधिमा सक्रिय सबै ८ विकास बैंकहरूले अघिल्लो वर्षको तुलनामा नाफा बढाउन सफल भएका छन्।

नाफाका आधारमा गरिमा विकास बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाउँदै ४२.९१ प्रतिशत वृद्धि हासिल गरेको हो। त्यसपछि मुक्तिनाथ विकास बैंक (९४ करोड २६ लाख), शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (७८ करोड ८४ लाख), ज्योति विकास बैंक (६२ करोड ९४ लाख), कामना सेवा विकास बैंक (५८ करोड ८६ लाख), लुम्बिनी विकास बैंक (५६ करोड १६ लाख), सांग्रिला डेभलपमेन्ट बैंक (४८ करोड ४५ लाख) र महालक्ष्मी विकास बैंक (४५ करोड ९९ लाख) रहेका छन्।

वृद्धिदरका हिसाबले भने लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ, जसको नाफा १०२८.२६ प्रतिशतले उकालो लागेको छ। यस अवधिसम्म बैंकहरूको कुल खुद ब्याज आम्दानी १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६.२४ प्रतिशतले बढी हो।

तेस्रो त्रैमाससम्म आइपुग्दा सबै विकास बैंकहरूको इम्पेयरमेन्ट चार्ज घटेको छ, जसले नाफा बढाउन सहयोग गरेको छ। महालक्ष्मी विकास बैंकमा यस्तो चार्ज सबैभन्दा धेरै ८७.२२ प्रतिशतले घटेको देखिन्छ।

अन्य बैंकहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ—ज्योति विकास बैंकमा ७७.२८ प्रतिशत, लुम्बिनीमा ७४.४३ प्रतिशत, शाइन रेसुङ्गामा ५१.१९ प्रतिशत, गरिमामा ४५.४७ प्रतिशत, सांग्रिलामा २६.८४ प्रतिशत, मुक्तिनाथमा २४.९७ प्रतिशत र कामना सेवामा ९.७५ प्रतिशतले कमी आएको छ।

नाफा र आम्दानीमा सुधार देखिए पनि खराब कर्जा अनुपात (एनपीएल) मा भने अपेक्षित सुधार देखिएको छैन। गरिमा र लुम्बिनी विकास बैंक बाहेक अन्य सबै बैंकहरूको एनपीएल बढेको छ।

कामना सेवा विकास बैंकको एनपीएल सबैभन्दा कम ४.४० प्रतिशत छ, यद्यपि यो पनि ०.१३ विन्दुले बढेको हो। मुक्तिनाथको ४.८८ प्रतिशत, गरिमाको ४.७७ प्रतिशत र शाइन रेसुङ्गाको ४.९२ प्रतिशत रहेको छ।

यता महालक्ष्मी विकास बैंक (६.५९ प्रतिशत), लुम्बिनी विकास बैंक (६.४९ प्रतिशत), सांग्रिला डेभलपमेन्ट बैंक (७.८७ प्रतिशत) र ज्योति विकास बैंक (७.८३ प्रतिशत) को एनपीएल भने नियामकले तोकेको ५ प्रतिशत सीमाभन्दा माथि पुगेको छ।

नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि उकालो लागेको छ। गरिमा विकास बैंकको EPS सबैभन्दा उच्च २३.२१ रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १७.२२ रुपैयाँ)।

शाइन रेसुङ्गाको EPS २०.९३ रुपैयाँ, लुम्बिनीको २०.६७ रुपैयाँ, कामना सेवाको २०.०५ रुपैयाँ, ज्योतिको १९.०९ रुपैयाँ, सांग्रिलाको १७.३० रुपैयाँ, मुक्तिनाथको १५.७१ रुपैयाँ र महालक्ष्मीको १३.५९ रुपैयाँ पुगेको छ।

बैंकहरूको लाभांश वितरण गर्ने क्षमता पनि सुधारोन्मुख देखिएको छ। यसमा लुम्बिनी विकास बैंक अग्रस्थानमा छ, जसको लाभांश क्षमता १७.४० प्रतिशत छ।

कामना सेवा विकास बैंकको १४.१५ प्रतिशत, गरिमाको १३.८९ प्रतिशत, शाइन रेसुङ्गाको १२.५० प्रतिशत, सांग्रिलाको ७.०४ प्रतिशत, मुक्तिनाथको ७.०२ प्रतिशत र महालक्ष्मीको ३.२५ प्रतिशत रहेको छ।

ज्योति विकास बैंकको भने लाभांश क्षमता ९.८९ प्रतिशत ऋणात्मक रहेको छ।