काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने प्रक्रिया आज अन्तिम ४७ जना इच्छुक उम्मेदवारहरूले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म ४७ जनाले आवेदन बुझाएका छन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सचिवालयमार्फत इच्छुक उम्मेदवारहरूले आफ्नो विवरण बुझाउने जनाइएको छ ।

नियामक निकायको अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण हुनुका साथै पुँजी बजार, वित्तीय व्यवस्थापन, अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ ।

सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो।