काठमाडौँ । तमिलनाडुको राजनीतिक मैदानमा तमिलगा वेत्री कझगम (टीवीके) ले महत्वपूर्ण सफलता हासिल गरेसँगै पार्टी नेता तथा अभिनेता विजय थलापतिको सम्पत्ति विवरण सार्वजनिक चर्चामा आएको छ।

हालैको विधानसभा चुनावमा टीवीकेले २३४ सिटमध्ये १०८ सिट जित्दै सरकार गठनतर्फ अग्रसर भएको बताइएको छ। सरकार बनाउन आवश्यक ११८ सिटको नजिक पुगेपछि विजयको राजनीतिक प्रभाव अझ बढेको मानिएको छ।

फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय विजय दक्षिण भारतीय सिनेमाका सबैभन्दा महँगा कलाकारमध्ये एक मानिन्छन्। विभिन्न रिपोर्टअनुसार उनको कुल सम्पत्ति करिब ६२४ करोड भारतीय रुपैयाँ रहेको उल्लेख छ।

उक्त सम्पत्तिमध्ये करिब ४०४ करोड रुपैयाँ चल सम्पत्ति रहेको छ भने बाँकी २२० करोड रुपैयाँ अचल सम्पत्तिमा रहेको बताइएको छ। बैंक निक्षेप, लगानी, फिक्स्ड डिपोजिट तथा पारिवारिक लेनदेनसमेत यसमा समावेश छन्।

उनको नाममा विभिन्न उच्चस्तरीय गाडीहरूको संग्रह पनि रहेको छ, जसमा बीएमडब्ल्यू, लेक्सस, टोयोटा वेलफायर, अडि र रेन्ज रोभर जस्ता ब्रान्डका लक्जरी सवारी साधनहरू छन्।

अचल सम्पत्तिमा चेन्नईका विभिन्न स्थानमा रहेका घर तथा व्यावसायिक भवन, कोडाइकनालमा कृषि भूमि र समुद्री किनारमा रहेको विलासी बंगला समावेश छन्।

साथै, सुन तथा चाँदीका सामग्री र अन्य व्यक्तिगत सम्पत्तिहरू पनि उल्लेखनीय मात्रामा रहेको बताइएको छ। आर्थिक वर्ष २०२४–२५ मा उनको आम्दानी करिब १८४ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।