काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका छन् । आज महासंघको सचिवालयमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
श्रेष्ठ गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । विधानको प्रावधान अनुसार उनी यसपाली स्वतः अध्यक्ष बनेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
योसँगै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष प्रावधान अन्तर्गत अध्यक्ष बन्ने उनी अन्तिम व्यक्ति भएका छन्। आउँदो निर्वाचनबाट अध्यक्षमै प्रत्यक्ष निर्वाचन हुनेछ ।
अध्यक्ष श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गर्दै निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधि सुदृढ बनाउन महासंघलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पद बहाली कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताए।







