काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको प्रक्षेपण सार्वजनिक गरेको छ । साथै, अधिकतम र न्यूनतम तापक्रम भने सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा विभागले यस वर्षको मनसुनको सम्भावित अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
मौसमविद् सुदर्शन हुमागाईंका अनुसार देशभरको वर्षा अवस्था समान नहुने भए पनि समग्रमा धेरै स्थानमा औसतभन्दा कम वर्षा हुने देखिएको छ । उनका अनुसार केही भौगोलिक क्षेत्रहरूमा भने भिन्न अवस्था रहनेछ ।
विभागको प्रक्षेपणअनुसार कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।
त्यसैगरी कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने औसत वर्षा हुने अनुमान गरिएको छ । यता सुदूरपश्चिम प्रदेशका अधिकांश भाग, मधेश प्रदेशको पश्चिमी क्षेत्र र कोशी प्रदेशको मध्य भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यसैबीच मनसुन अवधिभर देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको पनि विभागले उल्लेख गरेको छ ।
यो प्रक्षेपण आगामी जेठ १८ देखि असोज १४ सम्मको अवधिलाई आधार मानेर गरिएको हो ।







