काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदका लागि आवेदन खुलाइएको छ।

सरकारद्वारा गठित सिफारिस समितिले यी पदहरूका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक व्यक्तिहरूले आउँदो जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन ललितपुरको पुल्चोकस्थित प्राधिकरण कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ।

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमध्ये कुनै एकमा स्नातकोत्तर उपाधि आवश्यक पर्नेछ। साथै, नेपाल सरकारको विशिष्ट श्रेणी वा सोसरहको पदमा अनुभव भएको वा राष्ट्रिय/अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

विज्ञ सदस्य पदका लागि पनि समान शैक्षिक योग्यता आवश्यक रहेको छ भने सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव अनिवार्य गरिएको छ।

दुवै पदका उम्मेदवारको उमेर ६० वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तय गरिएको छ।