काठमाडौं । पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूविरुद्ध कडा कदम चाल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरेको छ।

कार्यालयका अनुसार १६ पटकसम्म नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभाग लाई पत्राचार गरिएको हो।

ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार पटक–पटक जरिवाना गर्दा पनि नियम उल्लङ्घन दोहोरिने प्रवृत्ति देखिएपछि लाइसेन्स निलम्बनको प्रक्रिया अघि बढाइएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था रहेको छ।

निलम्बनमा परेपछि सम्बन्धित चालकहरूले छ महिनासम्म कुनै पनि सवारी साधन चलाउन नपाउने व्यवस्था हुनेछ।

ट्राफिक प्रहरीले यो कदमले उपत्यकामा सवारी अनुशासन सुधार हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।