काठमाडौँ। सूचना प्रविधिको तीव्र विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग व्यापक हुन थालेको छ। सामाजिक सञ्जालमा देखिने रिल्समा होस् या विगतमा परम्परागत रूपमा चलिरहेका कार्यालयमा होस् एआई जताततै छाएको छ।
प्रविधिले आज हामीलाई एउटा नयाँ मोडमा उभ्याएको छ। फेसबुकमा स्ट्याटस लेख्ने देखि लिएर कार्यालयमा मेल, टिप्पणी, सूचना तयार पार्नेसम्म हुँदै हुँदै अब त नीति निर्माणसम्मै एआईको सहारा लिन थालेका उदाहरण र अभिव्यक्तिहरू देखिन थालेका छन्।
सबै क्षेत्रमा एआईको चर्चा चलिरहेका बेला आर्थिक भ्वाइसमा आज हामी बैंकिङ क्षेत्रमा एआईको प्रयोग कसरी गर्न सकिन्छ ? र यसका लागि राष्ट्र बैंकले नीतिगत रूपमा के कदम चालिरहेको छ ? भन्ने विषयमा चर्चा गर्ने छौँ।
राष्ट्र बैंकद्वारा एआई प्रयोगका लागि मार्गदर्शन सार्वजनिक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन गत डिसेम्बरमा एआई मार्गदर्शन सार्वजनिक गर्यो। तीव्र रूपमा विकास भइरहेको एआई प्रविधिले वित्तीय क्षेत्रमा अवसरसँगै जोखिम पनि बढाउँदै लगेपछि केन्द्रीय बैंकले स्पष्ट नीतिगत ढाँचा ल्याएको हो।

डिसेम्बर २०२५ मा जारी गरिएको Artificial Intelligence Guidelines मार्फत राष्ट्र बैंकले इजाजतप्राप्त संस्थाहरूलाई एआईको जिम्मेवार प्रयोग, जोखिम व्यवस्थापन र ग्राहक अधिकार संरक्षणमा केन्द्रित हुन मार्गदर्शन गरेको छ।
यस नीतिगत व्यवस्थाले एआईको प्रयोग गर्दा पारदर्शिता, निष्पक्षता, डेटा गोपनीयता र जवाफदेहितालाई अनिवार्य आधारका रूपमा स्थापित गरेको छ।
यस मार्गदर्शनले एआईलाई केवल प्रविधिगत सुधारको साधन मात्र नभई वित्तीय स्थायित्व, समावेशिता र उपभोक्ता संरक्षणसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा व्याख्या गरेको छ। त्यसैले बैंकहरूले एआई रणनीति, शासन संरचना र जोखिम व्यवस्थापन प्रणालीलाई एकीकृत रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
एआईले जोखिम व्यवस्थापनमा मदत गर्न पनि सक्छ र जोखिम ल्याउन पनि : प्रवक्ता पौडेल
नेपाल राष्ट्र बैंकका प्रबक्ता गुरु प्रसाद पौडेल बैंक तथा वित्तीय संस्थामा एआईको प्रयोग सम्बन्धमा नियमनसहित सुरक्षित रूपमा एआईको प्रयोग गर्ने र त्यसको लाभ लिनुपर्ने राष्ट्र बैंकको धारणा रहेको बताउछन्।
उनका अनुसार केन्द्रीय बैंकले प्रविधिको प्रयोगलाई निरुत्साहित नभई व्यवस्थित गर्ने दृष्टिकोण अपनाएको छ। यसै सन्दर्भमा केही महिनाअघि नै बैंक तथा वित्तीय संस्थासम्बन्धी एआई मार्गदर्शन जारी गरिसकिएको पौडेलले उल्लेख गरे।
उनले भने “बैंक तथा वित्तीय संस्थामा एआईको प्रयोग गर्न नपाइने भन्ने होइन, एआई प्रयोग गर्न पाइन्छ र गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकको धारणा पनि छ। राष्ट्र बैंक आफैले पनि त्यसबारे सोचिरहेको छ। हामीले केही महिना अगाडि बैंक तथा वित्तीय संस्थासम्बन्धी एआई गाइडलाइन पनि जारी गरिसकेका छौँ।”
उक्त मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको जिम्मेवारी, एआईको प्रयोग गर्न सकिने क्षेत्र लगायत एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिक आयामहरू समेटिएका प्रबक्ता पौडेलले जानकारी दिए।
“उक्त गाइडलाइनमा हामीले सञ्चालक समितिको जिम्मेवारी, एआई कुन–कुन काममा प्रयोग गर्न सकिन्छ, प्रयोग गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयहरू समेटेका छौँ। साथै एआईको नैतिक पक्ष, यसको जोखिम व्यवस्थापनमा सहयोग गर्ने क्षमता र आफैंले पनि जोखिम सिर्जना गर्न सक्ने पक्षलाई समेत ध्यानमा राखिएको छ।” उनले स्पष्ट पारे।
यो मार्गदर्शन बैंक तथा वित्तीय संस्थामात्र नभई भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि पनि लागू हुने गरी ल्याइएको हो।
AI सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, कुन देशमा कस्तो ?
विश्वभरका केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउँदै यसको अधिकतम लाभ लिन नीतिगत तथा प्राविधिक अभ्यासहरू अघि बढाइरहेका छन्।
Bank of England ले बैंकिङ क्षेत्रमा एआई प्रयोग गर्दा ‘TRUSTED’ framework मा आधारित भएर गरिरहेको पाइन्छ। बैंकले विशेषगरी, ग्राहकलाई असर पर्ने निर्णयहरूमा प्रयोग हुने एआई प्रणालीहरू स्पष्ट रूपमा व्याख्या गर्न सकिने हुनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, European Central Bank ले एआई प्रयोगसम्बन्धी जोखिम व्यवस्थापनका लागि “human oversight” लाई अनिवार्य मापदण्डका रूपमा लागू गरेको छ। युरोपेली संघको एआई नियमन ढाँचाले उच्च जोखिमयुक्त एआई प्रणालीहरूमा कडा निगरानी, परीक्षण र प्रमाणिकरण आवश्यक हुने व्यवस्था गरेको छ।
सिंगापुरमा केन्द्रीय बैंक Monetary Authority of Singapore ले “FEAT Principles” (Fairness, Ethics, Accountability, Transparency) लागू गर्दै बैंकहरूलाई एआई प्रयोग गर्दा निष्पक्षता र उत्तरदायित्व सुनिश्चित गर्न निर्देशन दिएको छ। त्यहाँको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एआई मोडेलको नियमित परीक्षण र bias monitoring गर्न समेत प्रोत्साहित गरेको छ।
त्यसैगरी, United States मा Federal Reserve लगायतका नियामक निकायहरूले बैंकिङ क्षेत्रमा एआई प्रयोग गर्दा consumer protection, data privacy र algorithmic fairness मा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। त्यहाँका बैंकहरूले fraud detection, credit scoring र customer service मा व्यापक रूपमा एआई प्रयोग गरिरहेका छन्।
US बैंकहरूमा AI chatbots, virtual assistants, automated query handling व्यापक रूपमा प्रयोग हुन्छ।
छिमेकी मुलुक भारतमा समेत केन्द्रीय बैंकले डिजिटल बैंकिङ विस्तारसँगै कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दो रहेको सन्दर्भमा जोखिममा आधारित नियामक दृष्टिकोण अपनाउँदै आएको छ। त्यहाँको केन्द्रीय बैंकले विशेषगरी तथ्याङ्क संरक्षण, साइबर सुरक्षा तथा बाह्य सेवा प्रदायकमार्फत गरिने कामसँग सम्बन्धित जोखिममा कडाइ गरेको छ।
बैंकिङ क्षेत्रमा एआई प्रयोग सम्बन्धी यस्ता छन् भारतका ७ सूत्र :

बैंकिङ क्षेत्रमा एआईको प्रयोग कुन–कुन कामका लागि गर्न सकिन्छ ?
बैंकिङ क्षेत्रका विज्ञहरुका अनुसार बैंकिङ क्षेत्रमा एआईको प्रमुख प्रयोगमध्ये एक हो ठगी तथा शंकास्पद कारोबार पत्ता लगाउने प्रणाली।
एआईले ठूलो मात्रामा हुने वित्तीय कारोबारको विश्लेषण गरी असामान्य गतिविधि पहिचान गर्न सक्ने भएकाले डिजिटल बैंकिङमा सुरक्षा मजबुत बनाउन मद्दत गर्छ।
त्यस्तै, ऋण मूल्याङ्कन तथा ऋण स्वीकृति प्रक्रियामा पनि एआईको प्रयोग बढ्दै गएको छ। ग्राहकको वित्तीय व्यवहार, कारोबार इतिहास र अन्य सूचनाको आधारमा छिटो र बढी सटीक निर्णय लिन बैंकहरूलाई यसले सहयोग पुर्याउँछ।
ग्राहक सेवा क्षेत्रमा समेत एआईको प्रयोग उल्लेखनीय छ। स्वचालित संवाद प्रणाली तथा डिजिटल सहायकमार्फत ग्राहकका प्रश्नहरूको तत्काल जवाफ दिने, जानकारी उपलब्ध गराउने र सेवा सहज बनाउने काम भइरहेको छ।
जोखिम व्यवस्थापनमा पनि एआई महत्वपूर्ण उपकरणका रूपमा प्रयोग भइरहेको छ। बैंक तथा वित्तीय संस्थाले सम्भावित वित्तीय जोखिम, बजार उतार–चढाव तथा ऋण जोखिमको पूर्वानुमान गर्न एआई आधारित विश्लेषण प्रणाली प्रयोग गर्न थालेका छन्।
यसका साथै, नियम पालना तथा अनुगमन प्रणालीमा पनि एआईको उपयोग बढ्दो छ, जसले बैंकिङ कारोबारमा नियम उल्लङ्घन पत्ता लगाउन र वित्तीय अपराध नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
यसरी एआई बैंकिङ क्षेत्रमा दक्षता वृद्धि, सेवा सुधार, सुरक्षा मजबुतीकरण र जोखिम न्यूनीकरणका लागि बहुआयामिक रूपमा प्रयोग हुँदै गएको देखिन्छ।
AI को तीव्र विस्तारसँगै बैंकिङ तथा वित्तीय क्षेत्रले यसको प्रयोगलाई अवसर र चुनौती दुवै रूपमा आत्मसात् गर्न थालेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनले एआईलाई पूर्ण रूपमा रोक्ने नभई नियमन र नियन्त्रणसहित सुरक्षित प्रयोग गर्न सकिने नीति अघि सारेको देखिन्छ।
अन्तर्राष्ट्रिय अभ्यासहरूले पनि एआईको प्रयोगमा समान दृष्टिकोण देखाउँछन् , प्रविधिको अधिकतम लाभ उठाउँदै मानव निगरानी, नैतिकता, डेटा सुरक्षा र जवाफदेहितालाई केन्द्रमा राख्ने नीति विश्वभरका नियामक निकायहरूको साझा प्राथमिकता बनेको छ। यसरी हेर्दा बैंकिङ क्षेत्रमा एआईको भविष्य विस्तार हुँदै जाने भए पनि यसको दिगो र सुरक्षित उपयोगका लागि सुदृढ नियामक संरचना र जिम्मेवार कार्यान्वयन अपरिहार्य हुने देखिन्छ।







