काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४५.१६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३२.३९ रुपैयाँ थियो।
नाफा वृद्धिसँगै संस्थाको समग्र वित्तीय प्रदर्शनमा सुधार देखिएको हो। यस अवधिमा संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.०७ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा संस्थाले १५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेर ७३ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५३ करोड ७२ लाख रुपैयाँ थियो। सञ्चालनतर्फ पनि सुधार देखिँदै खुद सञ्चालन आम्दानी ६३ करोड ५० लाख र सञ्चालन मुनाफा ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ।
यता, संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ९१ लाख रुपैयाँ रहेको छ। निक्षेप संकलन ३ अर्ब ६१ करोडबाट बढेर ३ अर्ब ९४ करोड पुगेको छ भने कर्जा प्रवाह ९ अर्ब ६७ करोडबाट बढेर १० अर्ब ४२ करोड पुगेको छ।
तर, संस्थाको खराब कर्जा अनुपात (एनपीएल) भने उल्लेखनीय रूपमा बढेको छ। यो ४.४८ प्रतिशतबाट बढेर ८.६९ प्रतिशत पुगेको छ। इम्पेयरमेन्ट चार्ज पनि ८ करोड ५८ लाखबाट बढेर १४ करोड ३९ लाख पुगेको छ।
अन्य सूचकहरूमा संस्थाको पूँजीकोष अनुपात १०.२७ प्रतिशत, कस्ट अफ फण्ड ६.४२ प्रतिशत, बेस रेट ११.१० प्रतिशत र सिडी रेसियो २७७.७० प्रतिशत रहेको छ। प्रतिसेयर नेटवर्थ २१४.७२ रुपैयाँ र तरलता अनुपात ७.३४ प्रतिशत कायम भएको छ।







