काठमाडौं । नेपालको होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणले उद्योग अझै दबाबमै रहेको देखाएको छ। सार्वजनिक विवरणअनुसार अधिकांश कम्पनीले नोक्सानी व्यहोरेका छन् भने केही मात्र नाफामा देखिएका छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ वटा होटल तथा पर्यटन कम्पनीमध्ये सोल्टी होटल र कालिन्चोक दर्शनले मात्रै नाफा आर्जन गरेका छन्। सोल्टी होटलले ५५ करोड ७ लाख रुपैयाँ र कालिन्चोक दर्शनले ४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन्।
तर, बाँकी पाँच कम्पनी घाटामा छन्। तारागाउँ रिजेन्सी होटलले १४ करोड ४८ लाख रुपैयाँ र सिटी होटलले १३ करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन्।
विश्लेषकहरूका अनुसार पर्यटन आगमन अपेक्षाकृत नबढ्नु, होटलहरूको कम अकुपेन्सी दर र बढ्दो सञ्चालन खर्चले यस क्षेत्रको नाफामा दबाब सिर्जना गरेको हो। कोभिड–१९ पछिको रिकभरी पनि अपेक्षित रूपमा हुन नसक्दा उद्योग अझै कमजोर अवस्थामा रहेको उनीहरूको भनाइ छ।
कम्पनीहरूको कुल चुक्ता पुँजी करिब १२ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको छ, जसमा सिटी होटल सबैभन्दा ठूलो पुँजी भएको कम्पनी हो।
जगेडा कोषतर्फ ओरियन्टल होटल अगाडि देखिएको छ भने सोल्टी र तारागाउँको अवस्था तुलनात्मक रूपमा बलियो छ। तर सिटी होटल र बन्दीपुर केवलकार भने ऋणात्मक जगेडा कोषमा रहेका छन्।
आम्दानीमा सोल्टी होटल शीर्ष स्थानमा रहँदै २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। त्यसपछि अन्य कम्पनीहरूको आम्दानी क्रमशः फरक स्तरमा रहेको छ।
प्रतिसेयर आम्दानी (EPS) र नेटवर्थका आधारमा पनि सोल्टी र ओरियन्टल होटल तुलनात्मक रूपमा बलियो देखिएका छन्।







