बुटवल । वैकल्पिक व्यवस्था बिना लामो समयदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाइएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूले बुटवलमा प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै तत्काल समाधानको माग गरेका छन्।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको छ।

प्रदर्शनमा देशका २२ भन्दा बढी जिल्लाबाट भूमिहीन तथा अव्यवस्थित बसोबासीको ठूलो सहभागिता रहेको आयोजकले जनाएको छ। सुरक्षाका लागि क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

आन्दोलनकारीहरूले सरकारको वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउने कार्यले लाखौं नागरिक प्रभावित भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार देशभर करिब १२ लाखभन्दा बढी परिवार र झन्डै ५० लाख नागरिक प्रभावित भएका छन्।

आन्दोलनपछि हुने सभामा सातै प्रदेशका प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यक्रम छ। साथै, आगामी ४ जेठमा बुटवलमै राष्ट्रिय सम्मेलन गरी समस्या समाधानका लागि ठोस निष्कर्ष निकाल्ने र राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्ने तयारी गरिएको छ।

संघर्ष समितिका अनुसार विभिन्न राजनीतिक दलहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।