काठमाडौँ । कुमारी बैंक लिमिटेडले राजधानीभित्र सञ्चालनमा रहेका आफ्ना सात शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखासँग एकीकृत गर्ने निर्णय गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त व्यवस्था २०८३ साल भदौ २ गतेदेखि लागू हुने जनाएको हो।
बैंकका अनुसार, कुलेश्वर शाखालाई कालीमाटी शाखासँग, रामहिटीलाई बौद्धसँग र रातोपुल शाखालाई मैतीदेवी शाखासँग गाभिनेछ। त्यस्तै, कोटेश्वर शाखा तिनकुनेमा, पानीपोखरी शाखा महाराजगञ्जमा, ठँहिटी शाखा ठमेलमा तथा सामाखुसी शाखा गोंगबु शाखासँग समायोजन गरिनेछ।
समायोजनमा परेका शाखाहरू एकअर्काबाट करिब ३०० मिटरदेखि २ किलोमिटरको दूरीभित्र रहेका छन्। नजिक–नजिक रहेका शाखाहरूलाई एउटै स्थानमा केन्द्रित गरी सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कदम चालिएको बैंकले जनाएको छ।
शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले अब कालीमाटी, बौद्ध, मैतीदेवी, तिनकुने, महाराजगञ्ज, ठमेल र गोंगबु शाखाबाट सबै प्रकारका बैंकिङ सेवा लिन सक्नेछन्।






