काठमाडौं । अनिवार्य गुणस्तर परीक्षणसम्बन्धी नियमका कारण १९ दिनदेखि रोकिएको नेपाली चिया भारततर्फको निर्यात अब पुनः सुरु हुने भएको छ। भारतले परीक्षण प्रक्रियामा संशोधन गरेसँगै नेपाली चियाको निकासीमा देखिएको अवरोध हटेको हो।

भारतीय चिया बोर्डले मंगलबार जारी गरेको संशोधित निर्देशन अनुसार अब चिया आयातमा लागू गरिएको अनिवार्य परीक्षणको व्यवस्था केही खुकुलो पारिएको छ। यसअघि प्रत्येक खेपको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नियमका कारण ढुवानी ढिलो भई नेपाली चिया सीमा नाकामै अड्किएको थियो।

मे १ देखि लागू भएको नयाँ मापदण्डअनुसार प्रत्येक गाडीको चिया परीक्षण अनिवार्य गरिएको थियो र रिपोर्ट आउन १० देखि १५ दिन लाग्ने भएकाले निर्यात प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको थियो। व्यवसायीहरूले यसलाई ‘अघोषित अवरोध’को रूपमा व्याख्या गरेका थिए।

समस्या समाधानका लागि नेपालका चिया उद्यमी तथा भारतस्थित कूटनीतिक नियोगले निरन्तर पहल गरेका थिए। त्यसपछि भारतीय खाद्य सुरक्षा, भन्सार र चिया बोर्डका प्रतिनिधिहरूबीच भएको संयुक्त छलफलपछि नियम संशोधन गरिएको हो।

नयाँ व्यवस्था अनुसार भारतभित्र बिक्री हुने चियामा अब अनिवार्य परीक्षण हटाइएको छ र जोखिम मूल्यांकनका आधारमा मात्र आकस्मिक नमुना परीक्षण गरिनेछ। तेस्रो मुलुक पठाइने चियाका लागि भने परीक्षण प्रक्रिया यथावत् रहनेछ। साथै, प्रयोगशालाले पाँच दिनभित्र अनिवार्य रूपमा रिपोर्ट अनलाइन प्रणालीमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

१९ दिनको अवरोधका कारण फ्याक्ट्रीहरूमा लाखौँ किलो चिया थुप्रिए पनि ढुवानी ठप्प भएको थियो। यद्यपि अब निर्यात सुचारु हुने अपेक्षा गरिएको छ। नेपालबाट वार्षिक करिब ५ देखि ६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ।

व्यवसायीहरूले यस निर्णयलाई राहतका रूपमा लिएका छन् भने दीर्घकालीन रूपमा नेपाली चियाको बजार सुरक्षित गर्न स्पष्ट सम्झौता आवश्यक रहेको सुझाव पनि दिएका छन्।