काठमाडौं – केन्द्रीय बैंकले अबदेखि श्रम ऐनको पूर्ण पालनालाई अनिवार्य बनाएको छ।

यसअघि बैंकहरूले आफ्नै नीति अनुसार ओभरटाइम दिने वा नदिने निर्णय गर्दै आएकोमा, अब कर्मचारीको सहमति बिना अतिरिक्त समय काममा लगाउन नपाइने र काम लगाएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक भुक्तानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू भएको छ।

यस कदमले विशेषगरी कार्यस्थलमा शोषणमा परेका कर्मचारीहरूलाई ठूलो राहत दिएको छ भने श्रम अडिटको व्यवस्थाले बैंकहरूमा आउटसोर्सिङमार्फत कार्यरत सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगीहरूको समेत न्यूनतम् सुविधा सुनिश्चित गर्ने बाटो खोलेको छ।

श्रम विभागको सक्रियता र ‘हेलो सरकार’ मा परेका उजुरीहरूको सुनुवाइ गर्दै राष्ट्र बैंकले अब बैंकहरूलाई आफ्ना कर्मचारी र श्रमिकहरूको तलब, उपदान र सुविधाको प्रमाणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ, जसको उल्लंघन गरेमा कानुनी कारबाहीको समेत चेतावनी दिइएको छ।

बैंकिङ प्रणालीलाई केवल नाफामुखी मात्र नभई सामाजिक रूपमा जिम्मेवार र समावेशी बनाउन राष्ट्र बैंकले अपाङ्गतामैत्री सेवालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। अब बैंकका भौतिक संरचना मात्र होइन, डिजिटल प्लेटफर्म र एटीएमहरू समेत दृष्टिविहीन तथा शारीरिक अशक्तता भएका व्यक्तिहरूले सहजै चलाउन सक्ने गरी परिमार्जन गर्नुपर्नेछ। ब्रेल साइन, अडियो सपोर्ट र ट्याक्टाइल फिचर्स भएका कार्डहरू अनिवार्य गरेर वित्तीय पहुँचमा कसैलाई पनि नछुट्ने सुनिश्चितता गरिएको छ।