काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सोमबार माइतिघर क्षेत्रमा भेला भएका उनीहरूले परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम भए पनि रोजगारदाताको छनोटमा नपरेका कारण अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका हुन्।
प्रदर्शनकारीहरूले रोस्टरमा नाम रहने अवधि हालको दुई वर्षबाट बढाउनुपर्ने माग गरेका छन्। साथै, उत्तीर्ण भएका उम्मेदवारहरूको फाइल पुनः रोजगारदातासम्म पठाउने व्यवस्था गर्न पनि उनीहरूको माग छ।
उनीहरूले “सबै मापदण्ड पूरा गरे पनि कोरिया जान नपाउने प्रणाली खारेज गर” र “आश्वासन होइन, परिणाम चाहियो” जस्ता नारा लगाउँदै श्रम मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गरेका थिए।






