खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रको फोहर प्रशोधन गरी प्राङ्गारिक मल र बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

करिब रु पाँच करोड लगानीमा निर्माण गरिएको उद्योग तत्कालीन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत २१ गते उद्घाटन गर्नुभएको थियो । नेपाल सरकारको विशेष अनुदानबाट रु तीन करोड ३२ लाख र नगरपालिकाबाट रु एक करोड ५६ लाख लगानी गरिएको उद्योग सञ्चालनमा नआउँदा राज्यको लगानी जोखिममा परेको स्थानीयको गुनासो छ ।

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्ने क्षमता रहेको उद्योग तथा बायोग्यासलाई सिएनजीमार्फत एलपी ग्याससरह प्रयोगयोग्य बनाउने लक्ष्य राखिए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । उद्योग परिसरमा निर्माण गरिएका पोखरी, हाइटेक ग्रिन हाउस तथा अन्य संरचनासमेत प्रयोगविहीन बनेका छन् ।

स्थानीय गङ्गाबहादुर विश्वकर्माले उद्योग सञ्चालनको आशामा आफूले निःशुल्क जग्गा उपलब्ध गराएको बताउँदै वर्तमान जनप्रतिनिधिले सञ्चालनमा चासो नदिएको आरोप लगाउनुभयो । उहाँका अनुसार उद्योगमा राखिएका धेरै उपकरण र सामग्री काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

नगरपालिकाले उद्योगका लागि खरिद गरिएका सक्सन मेसिन, ट्र्याक्टर र गाडी भने अन्य प्रयोजनमा प्रयोग गरिरहेको जनाएको छ । वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईले अघिल्लो नेतृत्वले दीर्घकालीन कार्ययोजना बिना संरचना निर्माण गर्दा यस्तो अवस्था आएको दाबी गर्नुभएको छ ।

केदार मगर /रासस