काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूध आपूर्ति गरेका किसानलाई बाँकी भुक्तानीमध्ये १२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ। पछिल्लो चार महिनामा करिब ५८ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्वमध्ये उक्त रकम किसानलाई वितरण गरिएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार डीडीसी सुधारका लागि कार्ययोजना लागू भएपछि किसानलाई दैनिक करिब एक करोड रुपैयाँका दरले भुक्तानी भइरहेको छ।

यद्यपि, दुग्ध क्षेत्रको समग्र बक्यौता अझै ठूलो रहेको छ। निजी डेरी उद्योगहरूले किसानलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ भने डीडीसीकै तर्फबाट पनि झण्डै ४६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।