काठमाडौँ । नेपालमा जीवन तथा निर्जीवन बिमा क्षेत्रमा उल्लेख्य वृद्धि भएको देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार बिमा शुल्क संकलन र कारोबार दुवै बढ्दो क्रममा रहेको छ।

सर्वेक्षणका अनुसार जीवन बिमामार्फत मात्रै रु १ खर्ब २७ अर्ब ६९ करोड बराबरको शुल्क संकलन भएको छ भने निर्जीवन बिमा क्षेत्रमा रु ३२ अर्ब ५३ करोड बराबरको प्रिमियम उठाइएको छ। यससँगै कुल बिमा शुल्क संकलन २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुनसम्म १६.१ प्रतिशतले वृद्धि भई रु १ खर्ब ६० अर्ब २२ करोड पुगेको छ।

सक्रिय बिमालेखको तथ्यांकअनुसार जीवन बिमातर्फ १ करोड ६२ लाखभन्दा बढी पोलिसी सक्रिय छन् भने निर्जीवन बिमातर्फ करिब २१ लाख ६८ हजार पोलिसी रहेका छन्।

त्यसैगरी चालु आवको फागुनसम्म जीवन बिमातर्फ १ लाख २५ हजारभन्दा बढी दाबीमार्फत रु २६ अर्ब ८४ करोड भुक्तानी गरिएको छ। निर्जीवन बिमातर्फ ९४ हजारभन्दा बढी दाबीमा रु १७ अर्ब ३१ करोड भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ।

बिमा क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १२ हजारभन्दा बढी जनशक्ति कार्यरत छन् भने लघु तथा जीवन बिमामा करिब ४ लाखभन्दा बढी अभिकर्ता अप्रत्यक्ष रूपमा संलग्न रहेका छन्। साथै सर्भेयर तथा पुनर्बिमा अभिकर्ता समेत यस क्षेत्रमा रोजगारीमा रहेका छन्।

यसैबीच कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति तथा दायित्व रु ६ खर्ब ४२ अर्ब ३५ करोड पुगेको छ। कोषले विभिन्न क्षेत्रमा रु २ खर्ब २९ अर्बभन्दा बढी लगानी गरेको छ भने ठूलो परिमाणमा कर्जा तथा सापटी प्रवाह गरिएको छ।

त्यस्तै नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु ३ खर्ब १९ अर्ब ५० करोड पुगेको छ। यस कोषले पनि विभिन्न क्षेत्रमा अर्बौं रुपैयाँ लगानी तथा कर्जा प्रवाह गर्दै आएको छ।