काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले योग्य तथा इच्छुक व्यक्तिहरूलाई दरखास्त दिन सूचना जारी गरेको हो।

समितिले जारी गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र, अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक कागजात पेश गर्नुपर्नेछ।

अध्यक्ष पदका लागि आवेदन दिन स्नातकोत्तर तह उत्तीर्ण हुनु अनिवार्य छ। बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कानुन, जनप्रशासन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ वा वाणिज्यशास्त्रमध्ये कुनै एक विषयमा अध्ययन गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ।

त्यसैगरी उम्मेदवारको नैतिक चरित्र राम्रो भएको, कानुनी रूपमा अयोग्य नठहरिएको र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड राखिएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा विदेशी स्थायी बसोबास अनुमति नलिएको व्यक्तिलाई मात्र योग्य मानिनेछ।