झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता
पकेटमनिको ४ हजारले सुरु गरेको ‘डिस ब्रान्ड’ को लगानी अहिले २५–३० लाख पुगेको छ । नवलपरासी बर्दघाटका सुरज राई र काठमाडौंकी आरोही बलामीले २ वर्षअघि सुरु गरेको डिस ब्रान्ड अहिले धेरैको मन जित्न सफल भएको छ ।
सुरुको पहिलो फेजमा उनीहरुले कच्चा सामान हरु किनेर एक टेलरमा डिजाइन दिए र सिलाइदिन लगाए । सुरुमा १० वटा डिजाइनको ज्याकेट बन्यो । फेसबुक र इन्स्टाग्राममा ’डिस’ नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो। पहिलो सातामै ८ वटा ज्याकेट बिके । सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड ’डिस’ थप्ने निधो गरे।
‘डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौँ। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौँ,’ सुरज भन्छन्, ’उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।’
डिसले खास गरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मी याम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट उत्पादन हुन्छ।
डिस ब्रान्ड युवापुस्ताको रोजाइमा परेको आरोही बताउँछिन् ।

‘हाम्रो ज्याकेट झट्ट हेर्दा अलिक खुकुलो देखिन्छ। युवाहरू आजकाल खुकुलो ज्याकेट मन पराउन थालेका छन्,’ आरोहीले भनिन्, ’हामीले तिनै युवापुस्तालाई लक्षित गरेका हौँ।’ डिस ब्रान्डमा पाइने ज्याकेटहरूको मूल्य २ हजार देखि ४५ सय सम्म पर्छ ।
सुरज र आरोही दुवैले फेसन डिजाइनिङ विषयमा व्याचलर पढ्दै छन् । सामान्यतया उनीहरू आफ्नै ढङ्गले ज्याकेट डिजाइन गर्छन्, ग्राहकको सुझाव पनि लिन्छन्। सबभन्दा बढी ढाका प्रिन्ट र टाइगर प्रिन्ट रूचाइएको सुरज बताउँछन् ।
ज्याकेट उत्पादनको काम गर्ने मुख्य सोच २३ वर्षीय सुरजकै हो। २०७४ सालमा एसएलसी सकेपछी थप अध्ययनका लागि काठमाडौँ छिरेका सुरजको रुचि पेन्टिङतिर पनि उत्तिकै छ । पेन्टिङ तिर आफ्नो करियर नदेखेपछी फेसन डिजाइनिङमा व्याचलर पढ्न थाले । उनलाई यो आइडिया लकडाउनको बेला आएको हो । अनि आरोहीसँग पनि अनुभव साटे ।

‘लकडाउनमा कलेज बन्द भयो। घरमा मोबाइल चलाएर बस्नेबाहेक केही काम थिएन,’ तीन दिन सम्झिँदै आरोहीले भनिन्, ’त्यो फुर्सदको समयमा हामी दुवैले केही अध्ययन र अनुसन्धान ग¥यौं।’
उनीहरूले घरमै बसेर थोरै लगानीमा गर्न सकिने कुनै कामको खोजी गरे। यही क्रममा उनीहरू फेसनदार ज्याकेट डिजाइन गर्ने निष्कर्षमा पुगे। कोरोना महामारी मत्थर हुँदै गयो। बजार खुल्न थाल्यो। ज्याकेटको माग र ग्राहकको रुची बुझ्न सुरज र आरोही बजार घुमे। राजधानी उपत्यकाका विभिन्न ठाउँमा ज्याकेटको बजार बुझ्ने क्रममा उनीहरूले व्यापारीहरूसँग पनि भेटे।
करिब छ महिना बजार अध्ययन र अवलोकनपछि उनीहरूले ज्याकेटका लागि डिजाइन बनाउने तयारी गरे। फेसन डिजाइनलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने सुरज र आरोहीको मान्यता छ।

‘बजारमा लगभग सबैजसो ज्याकेट चाइनाबाट आउँदो रहेछ, हामीले नेपालमै बनाउने निधो ग¥यौँ ,ग्राहकको रूचिअनुसारको ज्याकेटको बनायौँ’ सुरजले भने, ’हामी दुवै जना ज्याकेटमै काम गर्ने निर्णयमा पुग्यौँ।’
बढ्दो युवा उमेरका सुरज र आरोहीले आफूजस्ता युवाले रोज्ने डिजाइन बनाउनमा जोड दिए। आरोही २२ वर्षकी भइन् ।
उनीहरुले लोगो डिजाइन पनि पढेको हुनाले उनीहरुलाई ब्रान्डको नाम राख्न र लोगो बनाउन गाह्रो भएन । सबैले सम्झिन सक्ने, सजिलो, र आकर्षक नाम डिस लाग्यो र ब्रान्डको नाम डिस राखे । ‘नेपालमा हामी पनि छौँ र हामी सबैलाई डिस हान्न आएका हौँ भन्न खोजिएको हो’ । सुरजले भने,।
उनीहरूले एक महिनामा दस वटा डिजाइनका स्केच तयार गरे। अब चाहियो कपडा र सिलाउने ठाउँ।
आरोही असन महासन गल्लीकी बासिन्दा भएकाले कपडा पाइने पसलबारे उनलाई केही मेसो थियो। उनीहरूले असनबाट पहिलो पटक चार हजार रुपैयाँको कपडा किने। अलिक ठूलो लगानी पनि गर्न सक्थे र उनीहरू परीक्षण गर्दै अघि बढ्न चाहन्थे।
‘परिवारमा भनेर अलिक ठूलो लगानी पनि गर्न सक्थ्यौँ,’ आरोहीले भनिन्, ’थोरै लगानीमा थोरै उत्पादनबाट अघि बढ्ने भनेर सुरुमा चार हजार मात्र लगानी ग¥यौं।’
ज्याकेटको डिजाइन र कपडा बोकेर असनकै एक ’लेडिज टेलर’ मा पुगे। करिब एक महिनामा आफ्नो डिजाइनको ज्याकेट तयार भयो। टेलरकी दिदी चिनेकी भएका कारण सजिलो भयो, ज्याकेट बिक्री भएपछि ज्याला दिए हुने भयो।
सुरजका अनुसार ग्राहकले डिसको ज्याकेट निकै रूचाइयो। उनीहरूले क्रमशः उत्पादन बढाए। सुरूका ६ महिना टेलरमै सिलाउन लगाए। माग बढ्न थालेपछि सिलाइ मेसिन किने, कालिगढ राखे।

अहिले डिसको कारखाना असनको महासन गल्लीमै छ। मेसिन र कालिगढ पनि छन्। उनीहरूसँग ज्याकेटका थुप्रै डिजाइन छन् । अहिले उनीहरुले बुटिक पनि खोलेका छन् । फेसन डिजाइनिङको दायरालाई बढाउन र सबै खाले ग्राहकलाई समेट्न बुटिक पनि खोलेको उनीहरु बताउँछन् । ।बुटिक पनि राम्रै चलिरहेको सुरजको भनाई छ ।
डिसको ज्याकेट काठमाडौं उपत्यकासँगै देशका विभिन्न सहरहरूमा पुग्ने गरेको छ। अर्डर सामाजिक सञ्जालबाटै अर्डर आउने गरेको छ। दिनमा १०– १२ वटा ज्याकेटको अर्डर आउँछ । सुरुमा उनीहरु आफैले डेलिभर गर्थे । आरोहीले प्याकिङ गर्थिन् र सुरजले डेलिभर गर्थे । काम गर्दै जाँदा खुट्टा तान्ने हरुको जमात पनि थुप्रै भेटे तर पनि डग्मगायनन् ।
क्वान्टिटी भन्दा क्वालिटीमा ध्यान दिएको उनीहरु बताउँछन्। ज्याकेट बनाउनु अघि एउटा स्याम्पल बनाउँछन् र आफैँले प्रयोग गर्छन् र बल्ल बेच्नका लागि पेजमा हाल्छन् ।
‘नेपालमा राम्रो क्वालिटिको फ्याब्रिक पाउन गाह्रो भए पनि १२ वटा राम्रो क्वालिटीको फ्याब्रिक पाएका छौँ , ग्राहक हाम्रो लागि भगवान् स्वरुप हुन् त्यसैले हामीले क्वालिटीमा विशेष ध्यान दिएका छौँ’उनीहरु भन्छन् ।
काम गर्दै गर्दा मान्छे र समय राम्ररी चिन्न सकिँदो रहेछ ।सुरज भन्छन् हरेक कुरालाई आत्मसात गर्दै अगाडी बढेका छौँ । आगामी दिनमा थप डिजाइनका ज्याकेट बनाउने तयारी छ। उत्पादन बढाउँदै देशका प्रमुख बजारमा पुग्ने लक्ष्य लिएका छन्। अवको एक वर्षमा काठमाडौंमै शोरुम खोल्ने उनीहरुको तैयारी छ ।

‘व्यवसाय चल्न ठूला र आकर्षक शोरूम नै हुनुपर्छ भन्ने रहेनछ,’ उनीहरू भन्छन्, ’गुणस्तरीय सामान उत्पादन गर्न सकेमा अनलाइनबाटै पनि राम्रो व्यापार हुने रहेछ।’
बजारमा अन्य स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि आफ्नै छुट्टै विश्वसनीय ब्रान्ड बनाउने लक्ष्यका दुई साथी सुरज र आरोही अघि बढेका छन्। उनीहरुले ग्राहकलाई साइज नै मागेर पनि ज्याकेट बनाइदिने गरेका छन् । मार्केटले खोजेअनुसारको ज्याकेट आफुहरुले बनाउने गरेको सुरज बताउँछन्।

उनका अनुसार एक पटक किनेका ८० प्रतिशत ग्राहकहरु फेरी किन्न आउँछन् । उनीहरूसँग एउटा पनि स्टक छैन् । डिसको दौडानमा धेरै राम्रा व्यक्तीहरुको सहयोग रहेको उनीहरूको अनुभव छ । उनीहरुको ब्रान्ड नै किन्छु भन्नेहरु। पनि नआएका होइनन् तर उनीहरुले नबेच्ने निधो गरे । नेपालको ब्रान्ड ‘डिस ब्रान्ड’ लाई विश्वभर चिनाउने सुरज र आरोहीको सपना छ ।
ओलाङचुङगोलादेखि लिपुलेकसम्मका परम्परागत खाना पाइने ‘कटिया हाउस’







