काठमाडौँ । आज २०८० सालको अन्तिम दिन ,पुरानो बन्दै गरेको २०८० र नयाँ बनेर भित्रिन ठिक्क परेको २०८१ को पूर्व सन्ध्यामा धेरैको मनमा अन्योलको एउटा साझा विषय हुन सक्छ यो नयाँ वर्षमा कहाँ जाने भनेर ?

हरेक मान्छेको ईक्षा र चाहानाहरू फरक फरक छन् , इच्छा जस्तै रोजाईपनी फरक हुनु सामान्य विषय नै भयो! वर्ष फेरिएसँगै नयाँ वर्षमा कुनै नौलो अनि मनमोहक ठाउँ जाऊ र केही नयाँ स्मरणहरू केही सम्झना कैद गरौँ भन्ने धेरैको मनमा रहेको विषय हुन सक्छ उसो भएसी कहाँ जाने त नयाँ वर्षमा ? के गर्ने नयाँ वर्षमा ? वर्षभरी एउटै किलामा झुन्ड्याएको क्यालेन्डर र्फेन ठिक्क बनेको तपाई, नयाँ वर्षसँगै नयाँ-नयाँ संकल्प गरिरहेका तपाई र परदेशमा रहेर स्वदेशको नयाँ वर्ष सम्झना गरिरहनुभएको तपाइहरूलाई आर्थिक भ्वाईस परिवारको तर्फबाट धेरै धेरै शुभकामना सहित हामी तपाईँलाई केही घुम्न र नयाँ वर्षमा पुग्नुपर्ने ठाँउहरुको विषय जानकारी दिँदै छौ।

नयाँ वर्ष नयाँ सोच, नयाँ उत्साह र नयाँ उमङ्गको पर्व हो । नयाँ वर्षलाई मानिसहरूले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रूपमा पनि लिने गर्छन् । न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यति बेलाको मौसम र समयलाई निकै उपयुक्त मानिने गरिन्छ। पछिल्लो समय नेपालीहरू बिदामा घुम्न जान थालेपछि धेरै गन्तव्यहरू तयार भएका छन् । राम्रो आम्दानी हुनेहरू विदेश घुम्न जान्छन्। सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाहिँ नेपालकै विभिन्न ठाउँहरू हुने गरेका छन् ।

नयाँ वर्षमा पारिवारका सदस्य तथा साथीसंगीसँग घुम्न गएर रमाइलो गर्ने विशेष गरी काठमाडौँ उपत्यका भित्रका केही घुम्न लायक ठाउँहरूबारे विशेष र भ्याली बाहेक उपयुक्त ठाउँको बारेमा सामान्य चर्चा गरिएको छ।

त्रिभुवन पार्क

थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसँगै डेटिङ स्पटका रूपमा चिनिन थालेको एक चर्चित थलो हो। हरियाली जंंगलभित्रका ससाना बगैँचा र चराचुरुङ्गीको चिरबिर९चिरबिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ साथीभाइ हरूसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोसलाइज गर्नका लागि यो पार्क उपयुक्त छ। यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

धुलिखेल

धुलिखेल अर्को गन्तव्य हो जहाँ धेरै प्रेमिल जोडीहरूको रोजाइको केन्द्र बनेको छ । यो ठाउँमा पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ उपयुक्त हुन सक्छ। यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ।

सेतो गुम्बा (ह्वाइट गुम्बा)

काठमाडौँको रामकोट डाँडा गाउँमा रहेको शान्त वातावरण भएको ह्वाइट गुम्बा जोडीहरूका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामकरण गरिएको वाइट अर्थात् सेतो गुम्बा धेरै प्रेम जोडीहरूको छनोटको ठाउँ भित्र पर्दछ । यहाँबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भू वा सीतापालाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ । यहाँ रमणीय बगैँचा र हरियाली डाँडाहरूमा रमाउन , साथीभाइ , परिवारसँग जान उपयुक्त ठाउँ मान्न सकिन्छ ।

सदर चिडियाखाना

जनावर तथा पक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरूको सङ्ख्या पनि धेरै छ । शीतल र रमणीय स्थल भएकाले धेरै पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खेलकुद स्थानहरूमा भुलिने गर्छन् ।

नगरकोट

काठमाडौँबाट करिब ३५ किमीको दूरीमा रहेको यो ठाउँ प्राकृतिक रूपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाइमा पर्ने गरेको छ नगरकोट। राजधानीको भीडलाई छलेर नगरकोटमा गएर भरपुर मनोरञ्जन लिन सकिन्छ । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार

यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौँ बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौँ सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि ख्याति कमाएको यो स्थान सुनसान र एकान्त छ।

भोटे चौर

‘मिनी इलाम’ को उपनामले चिनिले काठमाडौँबाट नजिकै रहेको भोटे चौरको चिया बगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सुन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामका लागि राम्रो मानिन्छ।चाबहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटेलहरू पनि छन् । साँखुबाट दुई घण्टाको बस यात्रा गरे भोटे चौर पुगिन्छ ।

चिसापानी

नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँको संगमस्थल चिसापानी पुग्न सुन्दरी जलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जङ्गल र तामाङ बस्तीहरूको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जङ्गल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । गौरीशङ्कर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एक दिनमा पनि काठमाडौँ फर्कन सकिन्छ । एक रात बास बस्ने हो भने सुविधायुक्त होटेलहरू छन् ।

इन्द्र सरोबर (कुलेखानी)

घुम्नका लागि उपयुक्त स्थान विद्युत् उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर ९कुलेखानी० रोज्ने गन्तव्य हो । तालमा काठका डुङा सेयर गरेर रमाउन जोडीहरू यहाँ पुग्छन् । माछाका परिकारहरू खानका लागि धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौँबाट फर्पिङ हुँदै ४५ किलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।

स्वप्न बगैँचा (ड्रिम गार्डेन)

पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधा सम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात् स्वप्न बगैँचा । यो उपत्यका भित्रको एक सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैँचा, सुविधा सम्पन्न क्याफे रहेको बगैँचा केशर महलसँगै रहेको छ । विदेशीहरूको रोजाइमा पर्ने बगैँचा नेपालीहरूको पनि उत्ति नै भिड लाग्छ ।

सुन्दरी जल

नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै व्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधाहरू उपलब्ध छन् ।

स्वयम्भू

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भू पनि घुमघामका लागि राम्रो मानिन्छ । धार्मिक स्थल परिसरका रमणीय स्थलहरू मध्येको यो एक विशेष स्थलमा पर्दछ ।  काठमाडौँ सहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भू सहरको रमणीय दृश्यावलोकन साथै शीतलतामा रमाउन सकिन्छ ।

ककनी

डेटिङ स्पटको रूपमा चिनिने चर्चित ठाउँ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौँ नजिकैको पर्यटकीय स्थलको रूपमा लिइन्छ । ट्राउट माछाको स्वादसँगै मायाको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ । काठमाडौँको माछा पोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ ।

बालाजु पार्क

बालाजु बाइपासमा रहेको बालाजु पार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपि यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ। बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरूका लागि यहाँको वातावरणले इनरजाइज गर्छ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भीर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

गोदावरी

प्रेम जोडीका लागि प्रेम गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्ययतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रूपमा लिइन्छ । । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरू थुप्रै भेटिन्छन् । गोदावरीस्थित बोटानिकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैँचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।१

यी बाहेक उपत्यका बाहिरका केही मनमोहक ठाउँ यी हुन सक्दछन् । 

कालिन्चोक

काठमाडौँबाट सवारी साधनमा सहजै जान सकिने मनमोहक ठाउँ हो दोलखाको कालिन्चोक । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन्।

सिन्धुलीगढी 

प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सिन्धुलीगढीलाई लिन सकिन्छ । सिन्धुलीगढी काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको ४ हजार ६ सय ४८ फिट उचाइमा रहेका छ। सिन्धुलीगढी अवलोकन गर्दा  इतिहासको कालखण्डमा निकै कुख्यात घटनाक्रमबारे जानकारी लिन सकिन्छ ।

पर्यटकीय राजधानी पोखरा 

नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि प्रमुख गन्तव्य बन्ने गरेका छन् । पोखरामा मुख्य आकर्षण भनेको फेवाताल र वाराही मन्दिर हो । फेवातालमा बोटिङको मज्जा लिन र डुङ्गा चढेर मन्दिरमा पुगेर पूजाआजा गर्नु अधिकांश पर्यटकहरू पोखरा पुग्ने गरेका छन् । फेवातालमा माछापुच्छ्रे हिमालको छाया देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ ।

डाँडावारि बेगनास र डाँडा परी रुपाताल रहेको छ । बेगनास तालमा पनि डुङ्गा चढेर रमाइलो गर्न पाइन्छ । शहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा आत्म शान्ति मिल्छ । पोखराबाट बेगनास तालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् । त्यस्तै महेन्द्र गुफा पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत रहेको छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गरेर फर्किन सकिन्छ । पोखरा पुग्ने अधिकांश मानिसहरू प्याराग्लाइडिङ नगरी फर्कँदैनन् ।

 बाघ हेर्न बर्दिया

बाघ हेर्न चाहनेहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । काठमाडौँ, पोखराबाट सडक र हवाई मार्ग हुँदै बर्दिया पुग्न सकिन्छ । जहाजमा जाँदा नेपालगन्ज विमानस्थल झरेपछि स्थल मार्ग प्रयोग गर्नुपर्छ । सार्वजनिक सवारीमा जाँदा भने सिधै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । तर, हवाई जहाजबाट जाँदा भने नेपालगञ्जबाट फेरि गाडी चढेर जानुपर्छ । विमानस्थलबाट ८९ किलोमिटर टाढा रहेको निकुञ्ज पुग्न दुई घण्टा लाग्छ । काठमाडौँबाट निकुञ्ज ५ सय ९० किलोमिटर टाढा पर्छ । काठमाडौँबाट गाडीमा १५ घण्टा लाग्छ । निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच–बीचमा घाँसे मैदान छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् ।

लोमान्थाङ

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङका विविध आकर्षणमध्ये एक हो लोमान्थाङ । सौन्दर्य र सम्पदा दुवै दृष्टिकोणले यो स्थान अति विशिष्ट छ । जोमसोमबाट काली गण्डकीको तिरैतिर लोमान्थाङ पुग्दा भ्रमण प्रेमीहरुलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमान्थाङ घुम्ने पर्यटकको सङ्ख्या बढिरहेको छ । गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमान्थाङ जाने पर्यटकहरूको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ । गुजुमुक्क घरहरू । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुक्क घरहरू भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन् ।

खप्तड

खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। सुदूर पश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरूप १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरू तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ ।

मुस्ताङ

पछिल्लो समय अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ सन् २०२४ मा घुम्न उपयुक्त ठाउँको सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको छ । द न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै उक्त सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको हो ।

हिमालपारिको जिल्लाको नामबाट चिनिने मुस्ताङ जिल्ला धौलागिरि र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित छ । करिब ३००० वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्व कालमा नेपाल र तिब्बत बिचको व्यापारिक मुख्य नाका रहेको छ । मुस्ताङ जिल्लामा लोमान्थाङ ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, दामोदर कुण्ड, कागबेनीलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पर्दछन्। मुस्ताङ्गमा यारुझो भ्युटावर, नीलगिरि र धौलागिरि हिमालको दृश्यावलोकन, स्नो लियोपार्ट, घरपझोङ किल्ला, कुछ पतेरंगा गुम्बा, ऐतिहासिक संग्रहालय, मेसोकोन्दोपास र तिलीचो पदमार्ग छन् ।