काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्न स्रोतको समस्या परेको बताएका छन्।

आज काठमाडौँमा सुरु भएको विश्व बैकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को परिपूरण बैठक (आइडा २१) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘हामीकहाँ आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठुलो आवश्यकता छ ।’

प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गर्दै विकासको गतिमा अघि बढाउन आग्रह गरेका छन्। विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ।

‘स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ,विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनि मात्रै समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने

ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्‍याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमितता, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको बताए ।

आइडा २१ बैठकले न्यून आय भएका मुलुकलाई आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने प्रधानमन्त्रीले बताए । ‘नेपालसहित आइडिए प्राप्त कर्ता देशहरू यसको बृहत् प्रभाव देख्न चाहन्छन् र हामी यी स्रोतहरूको महत्त्व पूर्ण क्षमतामा महसुस गर्न चाहन्छौँ,’ उनले भने ।

दिगो विकासका लक्ष्य (एसडिजी),राष्ट्रिय रूपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको उनले उनले बताए । उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उनले बताए ।

डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिंदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई जोड दिंदै आएको उनको भनाई छ । नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण भएको उनले बताए। विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमान रूपमा प्रभावित भएको उनले बताए ।

विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको उनले बताए । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग आईडाले वित्तीय श्रोत परिचालनका लागि दाता र लाभग्राही देशबिच  मध्यस्थता गरिरहेको बताए । ‘यो बैठकले आइडाको श्रोत परिचालनका लागि मार्गदर्शन गर्नेछ । यो बैठकले अहिलेका लागि नभई अबको दशकका लागि कसरी योजनाबद्ध ढंगले अघि बढ्ने भन्ने तय गर्नेछु’, उनले भने ।