काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टि गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलको भनाई छ । प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशत जति सकिएको छ ।
यो सकिएपछि फेरि अन्तिम पटक रुजु गरिन्छ । अन्तिम रुजु पनि सकिएपछि नतिजा प्रकाशन तयारी गरिन्छ । पौडेलले भने, “असार १४ गतेभन्दा एक दिन पनि पछि जाँदैन । सकेसम्म त्योभन्दा अघि नै प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”बोर्डका अनुसार एसइईमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेश पत्र लिएका थिए । प्रवेश पत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थिति भएको बोर्डले जानकारी दिएको छ ।
यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने भएको छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्ने भएको छ ।