काठमाडौं । सरकारले संवैधानिक परिषदको बैठक बस्नका लागि गणपूरक संख्या चार जना हुने व्यवस्था गरेको छ । संवैधानिक परिषद सम्बन्धी अध्यादेशमार्फत यो प्रावधान लागू गरिएको हो ।
मंगलबार जारी गरिएको अध्यादेशअनुसार ६ सदस्यीय परिषदमा बैठक सञ्चालनका लागि अध्यक्षसहित कम्तीमा तीन जना सदस्य गरी कुल चार जनाको उपस्थिति आवश्यक हुने उल्लेख छ । यसले कुल सदस्य संख्याको बहुमतका आधारमा बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।
त्यस्तै, अध्यक्षसहित कम्तीमा तीन जना सदस्य उपस्थित भएको अवस्थामा अध्यक्ष र दुई सदस्य गरी कम्तीमा तीन जनाको निर्णयलाई परिषदको निर्णय मानिने व्यवस्था पनि गरिएको छ । पूर्ण ६ सदस्यीय उपस्थितिमा मत बराबर (तीन/तीन) भएमा अध्यक्षको मत निर्णायक हुने प्रावधानसमेत अध्यादेशमा समेटिएको छ ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद प्रधानमन्त्रीको अध्यक्षतामा रहने सर्वोच्च निकाय हो । परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ ।







