काठमाडौं । सरकारले इजाजत नलिई साहसिक पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेका कम्पनीहरूलाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।

पर्यटन विभागले सोमबार सूचना जारी गर्दै यस्ता कम्पनीलाई ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो । विभागका अनुसार देशका विभिन्न स्थानमा बन्जी जम्प, स्वीङ, क्यानोइङ, स्काई डाइभिङ, जिपलाइन, जिप कोस्टर, जेट स्की र मोटरबोटजस्ता साहसिक गतिविधि बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ ।

विभागले यस्ता गतिविधिमा सुरक्षा अत्यन्त संवेदनशील हुने भएकाले तोकिएको सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने स्पष्ट पारेको छ । अनुमति बिना सञ्चालन गरिनु कानुनविपरीत हुने भन्दै तत्काल बन्द गरी दर्ता प्रक्रियामा आउन सचेत गराइएको छ ।

दर्ता नगरी सञ्चालन भइरहे कारबाही अघि बढाइने पनि विभागले जनाएको छ ।