काठमाडौँ । नेपालमा विदेशी पर्यटकको मोह बढेको छ । पर्यटन विभागको तथ्यांक अनुसार सन २०२४ को जुलाई महिनामा ६४ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा ११.९ प्रतिशतले बढी हो ।
नेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका पर्यटक नेपाल आएका छन् । त्यस्तै एसिया भित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९०१ जना, युरोपबाट ९ हजार २८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मूलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।
यो अवधिमा सार्क राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्या २७ हजार २१२ जना रहेको छ । जसमा भारतीय पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । यो अवधिमा भारतबाट मात्रै २१ हजार ४९० जना नेपाल आएका छन् ।








