काठमाडौँ । पर्यटन विभागका अनुसार शनिवारसम्म तीन वटा हिमाल चढ्न ३६ जनाले अनुमति लिएका छन् । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ ।  जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।

आरोहण अनुमति खुलाएसँगै सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागको जानकारी छ ।  आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन् ।

मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए । गत वर्ष भदौ ३१ गते मनासलुमा पहिलो आरोहण भएको थियो । हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले हिउँदे पर्वतारोहणतर्फ मनासलु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ ।