काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरण आफैले बीमाशुल्कको रेट बिगार्न दबाब बढाएको खुलासा गरेका छन् । उनीहरुले एउटै बीमाको दरभाउलाई दुईवटा ठूला–साना कम्पनीले गर्दा दुई किसिमका व्यवहार हुनु दुखको कुरा रहेको बताएका हुन्।

लघु बीमा कम्पनीहरुलाई पोस्न बीमा प्राधिकरणले नै त्यस्तो किसिमका प्रोडक्ट डिजाईन बनाएको आरोप निर्जीवन बीमकहरुको छ । उनीहरुले हालसम्म निर्जीवन बीमा कम्पनीहरुले समान रेटमा (दरभाउ) कायम गरेको भए पनि त्यस्ता प्रोडक्ट लघु बीमाको नाममा (डाउन रेट) न्यून रेट कायम गर्दा बजारीकरण र बिक्री दुबैमा समस्या भएको उनीहरुको भनाई छ । निर्जीवन बीमा कम्पनीहरुले ठूलो भोलुममा व्यवसाय गर्ने भए पनि पछिल्लो समय उनीहरु आफ्नो बजार बिग्रीएको स्वीकार गर्छन् । यद्यपी सुरुवाती चरणमा भने लघु बीमा कम्पनीहरु आउँदा आफूहरुको प्रतिस्पर्धीको रुपमा नभई साथीको रुपमा मित्रवत व्यवहार हुने ठूला बीमा कम्पनीहरुकै भनाई थियो ।

अहिले उनीहरुमा त्यही व्यवसायकै कारण लघु बीमालाई हेर्ने नजरमा समेत केही चिसो पसेको बुझ्न सकिन्छ । एकातिर लघु बीमा कम्पनीहरु व्यवसाय पाएनौ भन्ने अवस्थामा गुज्रिरहेका छौं भनिरहेका छन् भने अर्कोतिर ठूला बीमा कम्पनीहरु व्यवसाय खोसीयो भनिरहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने लघु बीमकहरुले बीमा बजारमा बजारीकरण र व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको छ । झट्ट हेर्दा यो सामान्य जस्तो देखिए पनि बीमा बजारको व्यवस्थामा अदुरदर्शीता हावी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

अम्ब्रेला शैलीमा लाइसेन्स वितरणदेखि फेवरेवल पोलिसी पोसेको आरोप

हाल निर्जीवन बीमा कम्पनीहरुलाई एउटै विषय टाउको दुखाई बनेको छ । त्यो हो लघु बीमा सम्बन्धि विषय अनि उनीहरुले आफ्नो केही भाग खोसीयो भन्ने आरोप पनि लाग्न थालेको छ । अहिले अधिकांश निर्जीवन बीमा कम्पनीहरु मानिसक रुपमा लघु बीमा कम्पनीले आफ्नो व्यवसाय लग्यो भन्नेमा त पुगेकै छन् । अर्को भनेको लघु बीमाको उत्पति नै केही क्रसहोल्डीङ जस्तो देखिने किसिमले व्यवसायीक पकड भएका एउटै घरानाहरुलाई स्वार्थ बाझिने किसिमले जन्माएको आरोपमा पनि निर्जीवन बीमा कम्पनीहरुले जोड दिएका छन्।

बीमक संघमा अटेन लघुबीमा
यसको उदाहरण हेर्न टाढा जानुपर्देन । हालसालै मात्रै लघु बीमा कम्पनीहरुले पनि नयाँ संगठन खोल्न बाध्य भएका छन् । विगत लामो समयदेखि निर्जीवन बीमा कम्पनीहरुका साझा संस्था बीमक संघ संचालनमा आए पनि उनीहरुले लघु बीमालाई भने आफ्नो संगठनमा जोडन सकेनन् । त्यसरी लघु बीमक संघमा आफूहरु आवद्ध हुन मुस्किल भएसँगै हाल लघु बीमा कम्पनीहरुले आफ्नै संघ समेत खडा गरेको अवस्था छ ।