आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा हालैमात्र कवि फुँयालले कार्यकाल दोहोर्याएका छन् । १६ वर्ष अघि लक्ष्मी बैंकबाट करिअर सुरु गरेका फुँयालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ३ वर्ष भन्दा बढी चिफ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले आइएमई लाइफ इन्स्योरेन्समा सिईओको जिम्मेवारी सम्हाले । बीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा आइएमई लाइफ आईपीओ प्रिमियममा ल्याउने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको छ । साथै यो बिचमा कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि उल्लेख्य फडको मारेको छ। त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका उनले करिअरको करिब १६ वर्षभन्दा बढी समय जीवन बीमा क्षेत्रमा बिताएका छन् । प्रस्तुत छ सीईओ कवि फुँयालसँग आर्थिक भ्वाईसका सम्पादक बिजय फुयाँलले गरेको कुराकानीको सम्पादित अंश
आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको ६ वर्ष पूरा गरेको छ । यसबीचमा कम्पनीले केकस्ता उपलब्धीहरू हासिल गर्यो ?
६ वर्ष भनेको भर्खरकै हो । धेरै पूरानो भइसकेका छैनौं । जीवन बीमामा बीमा चेतना लगायतको कमीका कारण सुरूवाती समयमा केही कठीनाई आएका थिए । विस्तारै त्यसलाई चिर्दै अगाडि बढिरहेका छौं । यसबीचमा झण्डै ६८ जिल्लामा शाखा सञ्चालन गरिरहेका छौं । सात वटै प्रदेशमा पुगेर १ सय ४९ वटा शाखाबाट सेवा दिइरहेका छौं । हामीले बीमाका लागि १८ वटा प्रडक्ट अगाडि बढाइरहेका छौं । विशेषगरी नियमन निकायबाट हुने परिवर्तन तथा अर्थतन्त्र मजबूत नहुँदा विभिन्न चुनौति आए । यसका बावजुद कम्पनीले धेरै काम गरिसकेको छ । यस अवधिमा आईपीओ प्रिमियममा ल्याउने पहिलो जीवन बीमा कम्पनी हामी बन्न सकेका छौं । करिब ५ लाखको संख्यामा बीमित ४० हजारको संख्यामा अभिकर्ता लगायत छन् ती मध्ये २० हजार जतिले सक्रिय रुपमा काम गरिरहेका छन् । इन्भेष्टमेन्टको आकार हेर्ने हो भने झण्डै १६ अर्बको व्यालेन्ससिट बनेको छ भने प्रोफिटाबिलिटी पनि राम्रै छ । आव २०७९/८० मा करिब २५ प्रतिशत बोनस सेयर दिएर ५ सय करोड रुपैयाँ चुक्ता पूँजी बनाउन सफल भएको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण बीमा क्षेत्रमा पनि असर परेको छ । यस बीचमा आइएमई लाइफमा यसको असर कस्तो परेको छ ?
अर्थतन्त्र संकुचन हुँदा सबै क्षेत्रमा यसको प्रभाव पर्छ नै । तर हामीलाई अर्थतन्त्र संकुचनको कारणले व्यापारमा संकुचन आएको छ । त्यही संकुचन अनुसारको मन्दी हामीले सामना गर्नुपरेको छैन । आईएमई लाइफको व्यवसाय वृद्धिदर स्थापना कालदेखि नै समग्र जीवन बीमा कम्पनीको औसत भन्दा राम्रो छ । यस क्षेत्रमा करिब २८ प्रतिशतले व्यवसाय बढ्दा हामीले त्यो भन्दा धेरै नै दरले व्यापार बढाएका छौं । तर यसले असर पक्कै गरेको छ । विगत केही वर्षअगाडि ५० प्रतिशतभन्दा बढी वृद्धि भइरहेको अवस्थामा अहिले त्यसमा संकुचन आएको छ ।
आजको दिनमा मानिसले आफ्ना नियमित खर्च, ऋण लगायत सबै तिरिसकेपछि मात्रै बीमा गर्ने सोच्छ । साक्षरता नै कम हुँदा नेपाल जस्तो मुलुकमा बीमाप्रति आकर्षण कम नै हुन्छ । त्यसकारण अरु चिजमा कटौती गर्नुपर्नेमा नागरिकले बीमा प्रिमियममा कटौती गरिरहेका छन् । त्यसले कम्पनीलाई असर पारिरहेको छ । तर पनि समग्रमा हाम्रो व्यवसाय वृद्धि राम्रो छ । तर नयाँ कम्पनीले गर्नुपर्ने वृद्धि आइसकेको छैन ।
अर्थतन्त्रको संकुचन हुँदा कहाँ कहाँ असर परेको छ ?
अर्थतन्त्रको संकुचन हुँदा मुख्य त व्यवसाय वृद्धिमा सँकुचन आएको छ । अहिले बिमितहरूले हिजोको बीमाको आवश्यकता अनुसार जुन जीवन बीमा पोलिसी किन्नुभएको थियो, आज आम्दानीमा कमी भइसकेपछि त्यसमा उहाँहरूले घटाउनुभएको छ । क्रयशक्ति नै नभएपछि उहाँहरूलाई यो बाध्यता पनि छ । यस्तै बीमा त्याग्ने (सरेण्डर) दर पनि बढेको छ । हामीले विगत दुई वर्षमा अर्थतन्त्रमा निकै समस्या थियो । जसले नागरिकलाई निकै गाह्रो बनायो । हिजो व्यवसाय गर्दा लिएको ऋण चर्को ब्याजदरका कारण तिर्न सकिएन । जसकारण बीमा सरेण्डर गरेर त्यसबाट आएको पैसाले ऋण तिर्ने प्रवृत्ति पनि बढ्यो । तर अहिले सरेण्डर दर कम हुँदै गएको छ । अर्थतन्त्रको संकुचन हुँदा सरेण्डर बढ्दै गएको थियो, अर्थतन्त्र सामान्य अवस्थामा फर्कँदै गर्दा यो दर पनि घटेको छ ।
बीमा पोलिसी सरेण्डर बढिरहनुको खास कारण के हो ? मिससेलिङको कारणले कत्तिको असर परेको छ ?
बीमा पोलिसी सरेण्डर हुने कारणहरू धेरै छन् । चेतनाको अभाव तथा मिससेलिङका कारण धेरैजसो बीमा पोलिसी सरेण्डर हुने गरेका छन् । त्यसपछि अर्थतन्त्रमा आएको सँकुचनका कारण पनि यस्तो दर बढेको छ । नयाँ कम्पनीहरू आउँदा व्यवसाय आक्रामक बनाउने सबैको अभिप्रायस् हुन्छ । त्यस समयमा अभिकर्ताहरूलाई बढी जानकारी दिनुपर्ने हुन्छ । त्यसमा कमी हुँदा कतिपय अवस्थामा मिससेलिङ हुने गरेको छ । बीमा गराउनुअघि बुझाइनुपर्ने शर्त तथा नियमहरूबारे यथेष्ट नबुझाइँदा बिमितलाई समस्या भएको छ । अभिकर्ताले टार्गेट पूरा गर्ने दौडमा लाग्दा यसमा समस्या भएको हो । तर पछिल्लो समय बीमितहरू सुसूचित हुनुहुनुभएको छ ।
पछिल्लो समय बीमा प्राधिकरणले एकाघर परिवारका सदस्यलाई बीमा गराउन नपाउने व्यवस्थ्या ल्यायो । यसले बीमा व्यवसायमा कत्तिको प्रभाव पारेको छ ?
यो निर्णय छिट्टै सच्याउँछौं भनेर प्राधिकरणका अध्यक्ष र निर्देशकहरूले संयुक्त रूपमा नै भन्नुभएको छ । यो व्यवस्था छिटै हट्छ भन्ने हामीहरूको आशा र विश्वास छ ।
जीवन बीमा बेच्नका लागि साँच्चै गाह्रो छ । वित्तीय साक्षरता हाम्रो मुलुकमा भर्खर अगाडि बढिरहेको छ । नेपालमा २०७० को दशकमा मात्रै बीमामा अलिक परिवर्तन आएको हो । त्यसअघि १० प्रतिशत मूनीकै व्यवसाय थियो । तर आजको दिनमा जनसंख्याको आधारमा हेर्दा बीमा पहुँच वैदिशक रोजगारीमा गएकाहरूको सहित करिब ४३ प्रतिशत पुगेको भन्छौं । तर रोजगारीमा विदेश गएका, सरेण्डर गरेका तथा अन्यलाई हटाएर हेर्ने हो भने ३० प्रतिशत भन्दा कम नै छ । आज मेरो परिवारको आवश्यकताअनुसार जुन जीवन बीमा गराउन पर्ने हो त्यसको संस्कार नहुँदा बीमा भइरहेको छैन ।
लाखौंको संख्यामा अभिकर्ताहरू मुलुकभर खटाइँदा पनि बीमाको दायरा बढ्न सकेको छैन । यसको खास कारण के हो ?
तपाईंले दक्षिण एसियामा हेर्नुभयो भने नेपालको बीमा पहुँच धेरै राम्रो छ । अहिले सचेतनाका लागि बीमा प्राधिकरणले आफैं सक्रिय भएर गाउँगाउँमा पुगेको छ । यो निकै राम्रो कुरा हो । हामीले विगत दुई वर्षदेखि जिल्ला छुट्टाएर बीमा कम्पनीहरूलाई खटाइएको छ । यदि बीमा साक्षरता यसअघि पनि त्यसरी अगाडि बढाइएको भए अहिले मिससेलिङ कम हुन्थ्यो । विगतदेखि नै अभिकर्ताहरूलाई कम्पनीले र बिमितलाई अभिकर्ताले राम्रोसँग बुझाउन नसक्दा यसमा समस्या आएको हो । तर बीमा पहुँचमा कमी चाहिँ होइन । प्राधिकरणकै सक्रियतामा अहिले बीमा कम्पनीहरूले सिएसआरको रकम पनि बीमा साक्षरताका लागि देशभर खर्च गर्दै आइरहेका छौं ।
बीमालाई बचतसँग जोडेर पनि हेर्ने गरिन्छ । जीवन बीमा गर्ने सुरक्षाका लागि कि बचतका लागि ?
आजको दिनमा बीमामा बोनस धेरै हुन्छ भन्ने बुझेर बचतको औजार हो भन्ने बुझाइ विकसित भइरहेको छ । बीमा बुझेपछि यसमा स्पष्ट पार्न सकिन्छ । बीमाको फण्डामेन्टल कुरा बुझ्नुपर्छ । बीमा भनेको करार हो । बीमा कम्पनी र बिमितबीच करारमा निश्चित समयअवधिसम्ममा बिमितलाई केही दुर्घटना भएमा वा समस्या भएमा भुक्तानी गरिन्छ भन्ने हुन्छ । भविष्यमा केही दुर्घटनाका कारण उसको रोजगारी गुम्यो भने उसको परिवारलाई थप आर्थिक भार नपरोस् भन्ने मनसाय यसमा हुन्छ । त्यो बीमा गरेबापत परिवारमा ठूलो टेवा मिल्छ । अब करारमा मन्जुर भएअनुसार हरेक वर्ष प्रिमियम तिर्नुपर्ने हुन्छ ।
अब अर्को कुरा बीमा बचत पनि हो । यो अनिवार्य बचत हो । तर बैंकमा र यसमा फरक छ । बैंकमा मुद्दती खातामा बचत गर्नका लागि एकैपटक ठूलो रकम चाहिन्छ । तर बीमामा हरेक वर्ष थोरै थोरै रकम तिर्दै जाने हुन्छ । त्यसकारण यता सहज छ । यस्तै बीमा बचत र जोखिममात्र हैन निकै फरक खालको प्रडक्ट हो । मानिसमा तीन वटा सम्भावना बढी हुन्छ । एक दीर्घ जीवन बाँच्ने, अल्पायुमै रोग लाग्ने वा ज्यान नै जाने र अर्को परिवारको प्राथमिकता मानिसमा हुन्छन् । यसलाई सम्बोधन गर्ने एउटै चिज बीमा हो । बैंकले यसको सुनिश्चित गर्दैन तर बीमाले गर्छ ।
पछिल्लो समय मानिसमा विभिन्न खाले दीर्घरोग लागिरहेका छन् । यसले निकै ठूलो समस्या पार्दै गएको छ । यस्तो अवस्थामा साथ दिने भनेको बीमाले मात्रै हो । सामान्य आयआर्जन गर्ने मानिसलाई हातमुख जोड्नै कठीन भइरहँदा ठूलो ऋण लिएर उपचार गरिरहनुपर्छ । त्यतिमात्रै नभएर त्यसले लामो समयसम्म अप्ठ्यारो अवस्था सिर्जना गर्छ । तर उसले जीवन बीमा मात्रै गरेको छ भने आश्रीत परिवारलाई सहज हुन्छ । त्यसकारण बैंकको बचत र बीमालाई दाँज्नै मिल्दैन ।
आईएमई लाइफले कस्तो बीमा पोलिसीहरू बेचिरहेको छ रु बिमितले कस्तो पोलिसी बढी रुचाएका छन् ?
हामीले बेच्ने प्रडक्टहरू इन्डोमेन्ट टाइपकै हुन्छन् । तिर्दे जाने र केही समयपछि बोनस सहित नै लिने भन्ने सोच धेरैमा देख्न सकिन्छ । यसमा धेरै प्रकारका हुन्छन् । बालबच्चाहरूलाई लक्षित गरिएका पोलिसीहरू बढी बिक्री भइरहेका छन् । अहिले थोरै पैसा तिरेर जोखिम हस्तान्तरण गर्ने चाहनाका कारण त्यसतर्फ चासो बढिरहेको छ ।
अभिकर्ताहरूको सेवा सुविधा र क्षमता अभिवृद्धिका लागि आईएमई लाइफले कसरी काम गरिरहेको छ ?
प्राधिकरणले जारी गरेको व्यवस्थाअनुसार अभिकर्तालाई सेवासुविधा दिने, १० वर्षसम्म बीमा गरेपछि कमिसन दिने, बीमाशुल्कको आधारमा वार्षिक रुपमा समेत कार्यक्रमहरू ल्याउने गर्छौं । करिब ९९ प्रतिशत व्यवसाय अभिकर्ताहरूले नै ल्याउनुहुन्छ । अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि हामीले धेरै भन्दा धेरै लगानी गर्नुपर्ने हुन्छ । त्यसतर्फ हामी लागिरहेका छौं । प्रडक्टका कुराहरू कसरी बुझाउने भन्ने लगायतका सबै जानकारी दिन अभिकर्तालाई तयार पारिन्छ । हामीले गएको दुई वर्षदेखि अभिकर्ताको वृद्धिका लागि बिक्रिको पूरा प्याकेजको काम गर्दै आएका छौं । त्यसका अलावा अन्य विशेष खाले कोर्ष बनाएर समेत उहाँहरूलाई अगाडि बढाउने काम भइरहेको छ ।
आईएमई लाइफले आफ्ना सेवाहरूलाई प्रविधिमैत्री कसरी बनाइरहेको छ ?
हामीले नेपालमै बनाएको सफ्टवेयरमार्फत डिजिटलाइज काम गरिरहेका छौं । च्याटबोटको माध्यमबाट पनि हामीले कतिपय काम गर्दै आएका छौं । सामान्य जानकारी र सेवाका लागि ग्राहक कार्यालय धाउन नपर्नेगरी काम गर्यौं । अहिले हामी अटोमेसनको फेजमा छौं । करिब २० प्रतिशत ग्राहक प्रविधिमार्फत नै हामीसँग जोडिनुभएको छ । यो संख्या बढ्दो छ । हामीले सानो सानो दाबी भुक्तानी छिट्टै नै अनलाइनबाटै गर्नेगरी अगाडि बढिरहेका छौं । यस्तै नयाँ प्रोडक्ट अनलाइनबाट नै खरिद गर्न मिल्ने गरी काम भइरहेको छ ।
बीमाको दायरा अझै सोचे अनुरुप बढाउन सकिएको छैन । सरोकारवाला निकायले के–के काम गरेमा दायरा बढाउन सकिन्छ ?
बीमा ऐन आइसकेपश्चात दायरा बढाउनका लागि धेरै कुराहरू आएका छन् । हामीले ल्याएका प्रोडक्टहरूलाई जोखिममा आधारित भएर बीमा गर्छु भन्ने किसिमको ल्याउन सकेका छैनौं । त्यस्तो खाले प्रडक्ट ल्याउन काम गर्नुपर्छ । यसमा प्राधिकरणले हामीलाई इन्करेज गरिरहेको छ । सरकारले पनि करको दरमा थोरै हेरफेर गराउने बित्तिक्कै यसमा फरक देखापर्छ । यस्तै कृषकहरूलाई लक्षित गरी जीवन बीमामा प्रोत्साहित गर्नेतर्फ सोच्नुपर्छ । यस्तै रेमिट्यान्स पठाउनेलाई कुनै प्याकेज दिएर बीमातर्फ ल्याउनेतमा राज्यले सोच्नुपर्छ । बीमा क्म्पनीहरूले पनि नवीनतम योजनाहरू के हुन सक्छन् भनेर अध्ययन गर्नुपर्ने हुनुपर्छ ।
दोस्रो कार्यकालको लागि भर्खरै पुन : नियूक्त हुनु भएको छ। कम्पनीलाई अझ बलियो बनाउनका लागि तपाईंको योजना के छन् ?
हाम्रा लागि सबैभन्दा ठूलो कुरा भनेको बिमित हुन् । हामीले नयाँ भन्दा नयाँ जीवन बीमा योजनाहरू ल्याउँछौं । सबै क्षेत्रका मानिसलाई समेट्नुपर्नेछ । नविनतम जीवन बीमा योजना ल्याउनतर्फ सोचिरहेका छौ। यस्तै ग्राहकलाई छिटो र छरितो दाबी भुक्तानी दिने तर्फ लाग्छौं । यस्तै युवालाई लक्षित गरेर बीमा ल्याउन सकिएको छैन, उहाँहरूलाई पनि बीमाको दायरामा ल्याउनेतर्फ ध्यान केन्द्रित गर्नेछौं ।








