काठमाडौं । नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज आठौ दिनसम्ममा २७ करोड ७२ लाख १५ हजार ४ सय ९८ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार ४ ८ गते) दिउसो ०५ ः०६ बजेसम्म १४ हजार ६८७ जना आवेदकले आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको थियो। आइपीओ निष्कासन गरेको ८ दिनको अवधिमै ११ लाख ७० हजार६१ सय ३० कित्ता आइपीओमा आवेदन परिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अझै ७ दिन आइपीओमा आवेदन दिन सक्ने सक्नेछन् ।

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । कम्पनीले बीमा प्राधिकरणमा बुझाएको वित्तीय बिवरण अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।

प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा शेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस शेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै शेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता शेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । उसले पहिलो वर्ष २५ प्रतिशतका दरले २५ कित्ता बोनस शेयर प्राप्त गर्यो ।

अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको सेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक सेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस सेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस सेयर बिक्री भएपछि प्राथमिक सेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा सेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्ने देखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस सेयर दिने भएपछि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने बजार विश्लेषण छ ।

हाल आइएमई लाइफको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको आइएमई लाइफले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीले आईपीओ विक्रीबाट प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार आम्दानी गर्नेछ ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ,चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपियाँ संचिति रहेको छ ।

हाल कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपियाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो ।