काठमाण्डौ । आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ का अनुसार १२ अर्ब २३ करोड वरावरको कुल बस्तु निर्यात घटेको हो ।
यस्तो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड,पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा कुल वस्तु आयातमा पनि ०.६ प्रतिशतले कमी आएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ ।
वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पाट्स्र्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात घटेको छ । योसँगै आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्धि भई १६ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।







