काठमाडौँ। सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ ।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो। रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउने भएका छन् ।

८ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको  जानकारी दिएको छ । सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो ।

मन्त्रालयको भदौ २६ गतेको निर्णयलाई महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट शुक्रवार भएको हो ।

त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुग्ध विकास संस्थान (डीडीसी) लाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम सम्बन्धी दुग्ध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पूरा भएको डीडीसीले जानकारी दिएको छ ।