काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् ।

असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकममा वृद्धि गरेको हो । हाल वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । उक्त रकम बढाएर १० लाख रुपैयाँ पुर्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार बोर्ड मार्फत उक्त आर्थिक सहायता उपलब्ध हुँदै आएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

त्यस्तै कुनै कामको क्रममा अङ्गभङ्ग भएमा सात लाख रुपैयाँसम्म आर्थिक सहायता सरकारले दिदै आएको छ । शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्याउन र दाहसंस्कारका लागि समेत परिवारलाई २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । बोर्डले सोही रकमको आधारबाट राहत प्रदान गर्दै आएको हो । खाडी र मलेसियामा जाने श्रमिकले कल्याणकारी कोषमा १५०० रुपैयाँ जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै जापान, कोरिया, इजरायल लगायतका मुलुक जाने श्रमिकले २५०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।