काठमाडौँ । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको मात्रै आवेदन परेको छ ।

बीमा कम्पनीले असोज १६ गते सीईओको आवेदन माग गर्दै सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार २१ दिनभित्र आवेदन दिनुपर्ने थियो ।आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जानकारी दिएको छ ।

सीईओका लागि महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका हुन् । जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् ।

कोइराला म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशक हुन भने उनीसँग सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरेको अनुभव समेत रहेको छ । कोइरालाले तत्कालीन सूर्य लाइफमा डेपुटी म्यानेजरको रूपमा करिब ४ वर्ष काम गरेका थिए।

यता बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आबद्ध छन् ।  राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने  उल्लेख गरेको थियो ।