काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीले रिक्त रहेको सीईओ पद खुला प्रतियोगिताबाट परिपूर्ति गर्न दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।

यसअघि गत असोज १६ गते पहिलोपटक गरिएको दरखास्त आह्वानमा कुनै पनि उम्मेदवार सूचीमा परेका थिएनन् ।
कम्पनीले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्न भनेको छ ।

आवेदकको शैक्षिक योग्यता,अनुभव र उमेर कार्यविधिको दफा ४ बमोजिम योग्यता तथा उमेर भएको र कार्यविधिको दफा ६ बमोजिम अयोग्य नभएको हुनु पर्ने कम्पनीले जनाएको छ ।

दरखास्त आवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना खुलेको विस्तृत वैयक्तित विवरण,उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसँगै कम्पनीको लागि तयार पारिएको व्यावसायिक कार्ययोजना पेश गर्नु भनेको छ ।