काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवस मनाएको छ । उक्त अवसरमा सेन्टरले काठमाडौंमा प्रभातफेरि कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

संगठन केन्द्रीय समितिको आयोजनामा आज बिहान सेन्टरको कार्यालय बबरमहलबाट प्रभातफेरि सुरु गरेर माइतीघर हुदै पुन संगठनको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कृष्णसेन इच्छुकले जनयुद्धमा गरेको बलदिानबाट आएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेको प्रतिवाद गरिने बताए ।

पूर्व सभामुख समेत रहेका सापकोटाले हजारौँ जनयोद्धाको त्याग तपस्या र बलिदानको अवमूल्यन गर्ने षड्यन्त्र धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनयुद्धको समयमा जंगल र ओडारमा बसेर प्रतक्रियावादी सत्ताका विरुद्ध कलम चलाउँदाको समय जत्तिकै अहिले पन उत्तिकै महत्त्व रहेको बताए ।

संगठनका अध्यक्ष विष्णु सापकोटा जुगल’ले प्रेस सेन्टरले पार्टी, संगठन र बिचारको रक्षाका निम्ति आफ्नो तर्फबाट लडिरहेको र यसलाई थप विकास र सुदृढ बनाउँदै लाग्नुपर्ने धारणा राखे । यसैबिच प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको पाँचौँ बैठक पनि आजै बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकले संगठनको अधिवेशनको मिति तय गर्ने र यस अघि सम्पन्न पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गर्ने कार्यसूची रहेको छ ।