काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सेवा अवधि समापन भएसँगै प्राधिकरणबाट बाहिरिएका छन् ।
आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै सर्वोच्च अदालत पुगेका शाक्यको पदावधि रहँदासम्म सर्वोच्चबाट उनको मुद्दामा सुनुवाइ नै भएन ।
यत्तिकैमा कार्यकाल सकिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राधिकरणका सहकर्मीसँग बिदा मागेका छन् । उनले भनेका छन् ‘‘धन्यवाद, बाई बाई । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त,” उनले लेखेका छन्, “नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस्।’’
आफूलाई कानुनविपरीत प्राधिकरणबाट हटाइएको जिकिरसहित शाक्यले सर्वोच्चमा दायर गरेको रिटमा ३१ पटक तारेख धाए र, ११ पल्ट पेसीमा सुनुवाइ हुन सकेको थिएन ।
सरकारले असंवैधानिकरुपमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाएको र आफूलाई हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए । शाक्यले प्राधिकरणमा प्रबन्ध निर्देशकको रुपमा करिब ६ महिनामात्रै काम गर्न पाए ।
प्राधिकरणको प्रबन्ध निर्देशकमा थमौती गर्ने गरी अन्तरिम आदेश माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा मन्त्रिपरिषद्को निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा काम गर्न दिन शाक्यले अन्तरिम आदेश मागेका थिए । तर, सर्वोच्चले उनको माग अनुसार आदेश जारी गरेन ।