काठमाडौँ । लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक प्रतिनिधिका अनुसार बम्जनविरुद्ध करिब साढे आठ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
जिल्ला अदालतमा बम्जनविरुद्ध मुद्दा दायर भएको हो । हाल उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन्। जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ‘छ’ अनुसारको कसुर गरेको ठहर गरेको छ।
दफा ६६ मा बालबालिकाविरुद्धका कसुरहरू उल्लेख गरिएको छ। उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ। अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ। पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो। एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो।
बम्जनको साथमा ठुलो नगद बरामद भएपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको थियो।
२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बुढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो। त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो। पछिल्लो पटक तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो।
बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए। उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ बराबरका बरामद भएका थिए।







