काठमाडौं । पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अहिले अर्थतन्त्रमा ग्रहण लागेको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय निर्यात बढेको भनेर भएको चर्चाप्रति पनि आशंका व्यक्त गरे । उनले भने,‘अहिले निर्यात ७६ प्रतिशतले बढ्यो, आयात घटेको छ भनियो । तेस्रो मुलुकबाट भटमास प्रशस्त आयात गरेर ल्याएछ, ४६ अर्बको कच्चा पदार्थ आयात गरेर ल्याएछ, अनि अहिले ३८ अर्बको निर्यात गरेको भन्छन् । भारतले अहिले ती वस्तुहरुमा भन्सार बढि लगाएकोले त्यहाँका उद्यमीहरुले त्यो काम गर्न छोडेका छन्, यता भारतकै अनुकुल हुनेखालका उद्यमी तथा व्यवसायीहरु छन्, उनले यतापछि पठाउँदा पाएको गेनमात्रै हो ।’ रिपोर्टर्स क्लब नेपालले विज्ञहरुसँग गरेको साक्षत्कार कार्यक्रममा उनले उक्त कुरा बताएको हुन्।

क्षेत्रीले अबास्तविक तथ्य र तथ्यांकलाई लिएर गौरव गरेको अवस्था भन्दै गुनासो पोखे । उनले भने,‘अहिले अर्थतन्त्र ग्रहण लागेको छ । हाम्रो बजेटमा झण्डै ४० प्रतिशतजति विदेशी ऋण र अनुदानको कुरा आउँथ्यो । अमेरिकामा राष्ट्रपति ट्रम्प आएपछि ९० दिनको लागि अनुदान बन्द गरेको कार्यकारी आदेश आएछ । एमसिसी पनि भ्रष्टाचार रैछ भन्ने कुरा आयो, अब यी सबै कुरा हामीले आफ्नै परिवेशबाट बुझेर हेर्नुपर्छ ।’ विदेशी अनुदान रोकिँदा शिक्षा, स्वास्थ्य, वनलगायतका क्षेत्रमा असर पर्ने उनको भनाई छ ।

उनले नेपालमा अहिले राजश्व बढ्न नसकेको बताए । उनले भने,‘राजश्व सकेको छैन् । खर्च गर्ने बानी लागेको छ । बजेट ठूलो ल्याउने अनि मंसिरतिर घटाउने गरियो, यही चालु आर्थिक वर्षमा पनि १० प्रतिशत बजेट घटाईएको छ । सरकारलाई आफ्नै काममा पनि विश्वास रहनेछ भन्ने देखियो ।’

नेपालमा सबै संस्थाहरुमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण नबनाईएको भनेर उनले आलोचना गरे । ‘अहिलेका प्रधानमन्त्री केपी ओलीले यसअघि प्रधानमन्त्री हुँदा सबै विभाग आफ्नो मातहत ल्याए । मन्त्रिमण्डलमा जाने एक महिनाभित्रै सम्पत्ति विवरण सार्वजनिक भनिएको छ, तर अहिलेपनि कतिपय मन्त्रीहरुले कानुन मिचेका छन् । सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन् ।’

नेपाल एफएफटिएफको ग्रे–लिष्टमा अहिले दोस्रो पटक पर्नु आँफैमा नेपाल सरकारको हेलचेक्र्याईँ भएको उनको आरोप छ । उनले भने,‘अहिले दोस्रोपटक पनि ग्रे–लिष्टमा परेको हो । यो भनेको हेलचेक्र्याँई नै हो । उनीहरुले भनेको कुरा पालना गर्नुपर्छ अनिमात्रै उन्मुक्ति पाईन्छ । विगतका कुराहरुबाट गम्भीर शिक्षा लिएर जानुपर्छ । दिएका वचन पूरा गर्नुपर्छ । सरकारले पेश गरेको कार्ययोजना पूरा गर्नुपर्छ ।’ सो क्रममा उनले नेपालमा संघीयता त अहिले नै धान्न नसकिने अवस्था देखिएको बताए । उनले भने,‘आन्तरिक कर्जा लिएर कर्मचारीलाई तलव खुवाउने परिस्थिति छ । संघहरु खलबलिने अवस्था छ ।’

अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालले इजी मनी खोजेर पटक–पटक गल्ती गरेको टिप्पणी गरे । उनले नेपालको फाइनान्सियल इकोनमिक पोलिसी नै इजी मनी खोज्ने प्रवृत्तिको रहेको बताए । नेपालका ३० खर्बभन्दा बढी कर उठ्नुपर्नेमा अहिले लगभग १० खर्बमात्रै उठिरहेको कारण एफएटीएफले शंका गरेको उनले बताए । त्यस्तै डा. न्यौपानेले नेताहरुको सम्पत्ति दिनानुदिन बढ्दै जाँदा त्यसको स्रोत दिन नसकिएको कारण नेपाल ग्रे लिस्टमा पर्ने बाटोमा गएको बताए ।

रातारात धनी भएका मानिसहरुले कतै हमासलगायतका आतङ्ककारी समूहलाई फन्डिङ त गरेका छैनन् भनेर एफएटीएफले आशंका गरिरहेको पनि उनले बताए । यति धेरै कर उठ्नुपर्ने देशमा नेपालको पैसा कहाँ गयो भन्ने प्रसंगमा नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । ‘जनता नाङ्गै छन्, भोकै छन् । रोजगारी छैन, उचार गर्न सक्दैनन् । पैसा कहाँ गयो रु नेपाल आतङ्ककारीहरुलाई फन्डिङ गर्ने सोर्स कन्ट्री त होईन ? भनेर ऊ अनुसन्धान गर्न लाग्यो । नेपालको आयोजनाहरु किन पूरा भएनन् ? पाँच वर्षका लागि भनेको आयोजना किन ३० वर्षसम्म पूरा भएन रु त्यसको उत्तर पनि एफएटीएफले पाएन,’– उनले भने ।

नेशनल लाईफ इन्स्योरेन्स ३८औं वर्षमा प्रवेश ,अधिकांश सूचकमा यसरी मार्यो फड्को

साथै, खर्चको पारदर्शिता, दण्ड सजाय, अप्राकृतिक किसिमले सम्पत्ति आर्जनलगायतका गतिविधिले नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । अब विदेशी फण्ड र लगानीहरु नेपालमा नआउने उनले बताए । यसका लागि अब एमाले, कांग्रेस र माओवादीले सत्ता छोड्नुपर्ने उनको माग छ । उनले मध्यावधि निर्वाचनमा गएर नयाँ जनमतको सरकार बनाउनु पर्ने उनले बताए । ‘अब तुरुन्तै मध्यावधि निर्वाचनमा जाऔं । फ्रेस म्याण्डेट लिउँ । नत्र भने कांग्रेस, एमाले र माओवादीको बुताबाट यो देश अगाडि बढ्न सक्ने स्थिति मैले देखेको छैन,’– उनले भने ।

सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो बनिरहेको छ, यस्तै अवस्था रह्यो भने नेपाल २ वर्षपछि एफएटीएफ को ब्ल्याक लिस्टमा पर्छः अर्थविद् डा. कार्की

अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए । अहिले नेपालको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । डा. कार्कीका अनुसार अहिले नेपालमा राजश्वकको स्थिति डामाडोल रहेको, खर्च घटाउन नसकिएको र ठूलो नीतिगत अस्थिरता रहेको, लगानीको वातावरण नरहेको अवस्था छ ।

सरकारको गतिविधिकै कारण नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । वर्तमान सरकारले पनि कुनै सुधारको काम गर्न नसकेको डा।कार्कीले बताए । उनले अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो बनिरहेको टिप्पणी गरे । ‘अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो पनि भइराखेको छ । कुनै सुधारहरु छैन, आफ्नो मान्छेलाई कारबाही नहुने, अरुलाई कारबाही हुने, ‘रुल अफ ल’ को मतलब नै नहुने, यो सरकार बनेको पनि सात/आठ महिना भइसक्यो, अहिलेसम्म सम्पति सार्वजनिक भएको छैन,’– उनले भने ।

साथै, घरजग्गा कारोबार, क्यासिनो, शेयर बजार र सहकारीमा एफएटीएफले आशंका गरेको उनले बताए । उनले यसमा सरकारले विशेष निगरानीमा पुर्याउनुपर्ने बताए । अहिले एफएटीएफको स्पेसल निगरानीमा नेपाल र लाओस रहेको उनले सुनाए । सरकारले ऐन, कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने, घरजग्गा कारोबार बैंकिङ च्यानलमार्फत मात्रै गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, एफएटीएफले तोकेका सबै सूचकहरुको प्रभावकारी कार्यान्वयन गराएर देशलाई दुई वर्षभित्र ग्रे लिस्टबाट हटाउन सकिने उनको सुझाव छ । उनले अहिलेकै अवस्थामा सुधारको कुनै स्थिति नरहेको बताए । यस्तै अवस्थामा रहे नेपाल अबको २ वर्षभित्र ब्ल्याक लिस्टमा पर्ने उनको चेतावनी छ ।

भूमि सम्बन्धी अध्यादेशः परिमाणको सीमा र क्षेत्र नै नतोकी सरकारी जग्गा बाँड्ने नियत नै गलत

‘अर्थतन्त्र नाजुक अवस्थामा गइराखेको छ । आन्तरिक ऋण बढेकोबढ्यै छ । ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । यस्तो अवस्थाबाट नेपाल गुज्रिराखेको छ । यो सुधार हुने भन्दा पनि २ वर्षपछि हामी सजिलै ब्ल्याक लिस्टमा जाने मलाई लागिराखेको छ,’– उनले भने ।