काठमाडौँ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने बैंकिङ्ग निक्षेपमा ३ अर्बको गिरावट आएको देखिएको छ ।  राष्ट्र बैंकको चैत १७ र १८ गतेको तथ्यांकलाई हेर्दा बैंकिङ्ग निक्षेपमा एकै दिन ३ अर्बको गिरावट देखिएको देखिन्छ।

चैत १७ गते ६७ खर्ब ९० अर्ब निक्षेप संकलन भएकोमा अर्को दिन चैत्र १८ गते ३ अर्बले घट्दै ६७ खर्ब ८७ अर्ब रुपैयाँ संकलन भएको छ। सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्बकै गिरावट देखिएको छ ।

सोही मितिमा(चैत १७ गते) ६० खर्ब ६३ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ६० अर्ब रुपैयाँ संकलन गरेको तथ्यांकमा उल्लेख छ । सो समयमा कर्जा प्रवाह भने स्थिर रहेको छ । यो सँगै पछिल्लो समय अर्थतन्त्रको अन्य वर्तमान अवस्था कस्तो छ ? शिथिल अर्थतन्त्रको कारण के हुन लगायतका प्रश्न सहित आर्थिक भ्वाइसले लगानीकर्ता तिलक कोइरालालाई सोधेको छ । प्रस्तुत छ कोइरालाको धारणा  ।

यहाँले सुरुमा जुन बैंकिङ्ग निक्षेप लगायतको विषय उठाउनुभएको छ  यसलाई हाललाई सामान्य नै मान्न सकिने अवस्था छ। विशेषगरि बैंकहरु अहिले कर्जा बिस्तारमा भन्दा पनि रिकभरीमा केन्द्रित भएको देखिन्छ । हाल बजारमा हेर्ने हो भने रिस्क नै लिएर कर्जा लिँदै व्यवसाय बिस्तार गर्न चाहने व्यवसायी वा लगानीकर्ता पनि त्यस्तो देखिनुहुन्न । यसको कारण आन्तरिक अर्थतन्त्र अझै पनि शिथिल नै छ । यस बाहेक बाहिरी अर्थतन्त्र भने मजबुत नै भएको मान्न सकिन्छ ।

अर्को भनेको लगानीकर्तामा लगानी गर्ने आत्मविश्वास देखिदैन्, अर्को भनेको लगानीको सम्भावना पनि देखिदैन । लगानी कहाँ र कस्तो क्षेत्रमा गर्ने, लगानी गरेपनि त्यसले लगानी वा नाफा उठाउन सक्छ सक्दैन भन्ने आम लगानीकर्तामा अन्यौलता सृजना गरेको देखिन्छ । लगानीकर्ताको आत्मबल बढाउनका लागि देशमा राजनीतिक स्थिरता चाहिन्छ तर हाल अवस्था त्यस्तो छैन । देशमा देखिएको राजनीतिक अस्थिरताको कारण पनि आम लगानीकर्ता भड्किएको अवस्था छ ।

सरकारले विश्वास जगाउन सकेको छ । आम नागरिकमा सरकारले अपेक्षा देखाउन सक्नुपर्छ । राष्ट्रबैंकले निरन्तर रूपमा अधिक तरलताको अवस्थामा पैसा तानेको कारण अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा सीमित भएको छ । यसलाई राम्रो मान्न सकिन्छ किनकि यस अगाडि यो भन्दा कम भएको अवस्था थियो । सरकारले पुँजीगत खर्च बढाउन नसकेकै कारण समस्या देखा परेको छ । कतिपय ठाउँमा सरकारले तिनुपर्ने रकमहरू तिर्न सकेको देखिदैन् । बीमा बापतको होस् वा ठेकेदारको भुक्तानी गर्ने रकमको कुरा होस् यी सबैतिर बाकी रहेको देखिन्छ । राजस्वले साधारण खर्च समेत धान्न मुस्किल भएको देखिन्छ ।

यसकारण यी सबै सबैको जिम्मेवार नागरिक वा व्यवसायी नभएर सरकार नै जबाफदेही हुनुपर्ने देखिन्छ । सरकारले नै नीतिगत हेरफेर गरेर हुन्छ वा केही रचनात्मक काम गरेर हुन्छ अर्थतन्त्र चलायमान बनाउनतर्फ उन्मुख हुन जरुरी छ भन्ने लाग्दछ ।

सरकारले यसका निमित्त आगामी गभर्नर कस्तो ल्याउँछ, आएको गभर्नरको भूमिका कस्तो हुन्छ । भन्ने विषयले समेत अर्थ राख्दछ । हाम्रो अर्थतन्त्र सरकारको नीति नियम वा अर्थ मन्त्रालयले भन्दा बढी राष्ट्रबैंकको नीति र पोलेसीले निकै अर्थ राख्ने गर्दछ र चलायमान हुने गर्दछ । यसकारण अब आउने गभर्नरको अपस्थितिलाई समेत विशेष रूपमा हेरिएको छ ।

समग्रमा भन्ने हो भने अर्थतन्त्रको अवस्था निकै कमजोर भन्ने अवस्था पनि छैन र एकदमै सुधारको अवस्था पनि भन्न सकिने अवस्था देखिदैन् । व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् । सरकारले फजुल खर्च कटौती गर्न जरुरी छ । उत्पादनशील क्षेत्रमा लगानी गर्ने र आत्मनिर्भर बनाउनतिर उन्मुख हुन जरुरी छ ।

मैले माथि पनि भने देशको बाह्य अवस्था सन्तोषजनक मान्न सकिने नै छ । रेमिट्यान्स बढेको अवस्था छ । साथै विदेशी मुद्राको सञ्चितिमा समेत बढोत्तरी नै देखिएको छ । कुल वस्तु निर्यात देखि  विप्रेषण आप्रवाहमा समेत सुधारको स्थिति बनेको छ यसकाराण मुख्य विषय भनेको आन्तरिक पक्ष कमजोर बनेको छ । लगानीको क्षेत्र बिस्तार हुन सकेको छैन। आम मान्छेको निराशा कायमै छ यसकारण हाल सरकारको ध्यान आन्तरिक क्षेत्रलाई बलियो बनाउनतर्फ उन्मुख हुन जरुरी छ भन्ने लाग्दछ ।

तथ्याक र तथ्यको कुरा नेपाल राष्ट्र बैंकले आज गरेको आधारमा हेर्ने हो तर त्यसको समीक्षा गर्ने दृष्टिकोणले हेर्दा सरकार लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक छ र यसको निमित्त निजी क्षेत्रले समेत सरकारलाई सघाउन जरुरी छ भन्ने मेरो धारणा हो ।