काठमाडौंनेपालको सेयर बजारले हालैका दिनमा अस्थिर व्यवहार देखाएको छ। दैनिक रूपमा उतारचढाव आएको शेयर बजारले ३ हजारको बिन्दु समेत पार गरेको अवस्था छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा सेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरूमा पुनः विचार गर्दै गैर आवासीय नेपालीलाई पनि सेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएसँगै बजारले थप चमक भरेको अवस्था छ ।

तर बजारको यो रौनक कति समयलाई ? बजार चलायमान बनाउन वा यो गति स्थिर राख्न के गर्ने कस्ता कुरामा ध्यान दिने भनेर आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीले लगानीकर्ता तिलक कोइरालासँग सोधेका छन् ।
प्रस्तुत छ कोइरालाको धारणा….

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि, बनेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल अर्थमन्त्री बने । उनको आगमनसँगै सेयर बजारमा उल्लेखनीय वृद्धि देखियो मानिन्छ । यहाँले भनेझैँ नेप्से सूचकाङ्कले ३ हजारको अंकको विन्दु स्पर्श गरेको अवस्था छ ।  तर बजारको सुध्रिएको गति नरोकिने हो वा फेरि राताम्य बन्ने हो यो आम लगानीकर्ताको चासो र चिन्ताको विषय बनेको छ ।

बजारमा सकारात्मकता आउनु राम्रो हो, यहाँको शब्द मैले सापटी लिए कि यो तपाईँले भनेझैँ सकारात्मकता नै हो हाल कायम भएको बिन्दुबाट उकालो लागेको खण्डमा त्यसलाई थप अर्को ढङ्गले विश्लेषण गर्न तिर लागौला तर बजारलाई यतिसम्म जान्छ भनेर किटान गरेर जो कसैले भन्दैन र भन्न मिल्दैन पनि । मुख्यतया याद गर्नुपर्ने कुरा के हो भने लगानीकर्ताले आफूले कुन कम्पनीमा लगानी गर्दै छु । त्यस कम्पनको वित्तीय अवस्था कस्तो छ भनेर जान्नु अपरिहार्य छ ।

आफूले लगानी गरेको कम्पनी कति नाफा वा घाटामा चलेको छ । कति पुग्दा बेच्ने वा किन्ने त्यो आफ्नो निर्णयको कुरा हो । कति लाभांश खाने , कति होल्ड गर्ने लगानीकर्ताले स्यंयमले निर्धारण गर्ने विषय हो, अरूले भनेको भरमा लेखेको भरमा वा अरूकै बिचारको आधारमा कारोबार गर्न थालियो भने त्यसले छिट्टै दुर्घटना बनाउँछ भन्ने मेरो बुझाई हो । म स्यंमपनि मेरो नै कुरा अन्तिम सत्य हो भन्ने पक्षमा छैन ।

बजार कति बढ्ला, कुन बिन्दुमा पुगेपछि करेक्सन आउला जस्ता विषयमा अल्झिनुको कुनै तुक छैन । पुजीबजारमा अन्योल चाही हुन्छ किनकि एकातिर किन्न को लागी मान्छे कुदिरहेको हुन्छ भने अर्कोतर्फ बेच्नको लागी । जसले बेचेर सकेका हुन्छन् उनीहरू अब करेक्सन हुन्छ, बजारमा ओरालो यात्रा सुरु भयो भन्न तयार हुन्छ भने जसले किन्दै छन् उनीहरू कहाँ त्यस्तो हुनु त्यसो हुनै सक्दैन सबै कुरा राम्रो छ, बजार त अझै बढ्ने वाला छ भन्दै कुनै न कुनै तर्कको आविष्कार गर्नतर्फ केन्द्रित हुन्छ ।

समग्रमा यो स्वार्थको लडाई हो, डोरी तानातानको खेल मात्रै हो । यद्यपि यो चाहिँ सत्य हो कि बजारमा लगानीकर्ताको आत्मबल जबसम्म बढ्छ तबसम्म बजार चलायमान हुन्छ । हाल बैंकमा अधिक तरलता बढेको छ । उक्त तरलतालाई अन्यत्र स्थानान्तरण गर्ने अवस्था पनि छैन। अन्य क्षेत्रमा पर्याप्त लगानीको बाटो खुलेको छैन , घरजग्गा कारोबार देखि बैंकको ब्याजदर सम्म सुस्ताएको अवस्था छ यसकारण यो समय लगानी गर्ने भरपर्दो माध्यम शेयर बजार नै बनेको छ ।

यद्यपि यसको यात्रा कति लामो बन्छ भन्न सकिँदैन , यहाँ स्वार्थको निमित्त सबैले आ आफ्नो ढङ्गले विश्लेषण गरेको अवस्था छ । यसको कुनै निश्चित बिन्दु छैन । अविरल यात्रा छैन जतिसुकै बेला बजारमा गिरावट आउन सक्छ । म यति भन्छु अहिलेको तत्कालीन समयमा लगानीको वातावरण बनेको छ, यसको सूचकहरू राम्रो छन् । बजारले गति लिएको छ । लगानी गर्ने विश्वास थपिएको छ । यसमा लगानीकर्ताले हचुवाको भरमा हैन कि बुझेर, अध्ययन गरेर लगानी गर्नुपर्छ भन्ने मेरो धारणा हो ।