काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको आरोप लगाएका छन् ।
मंगलवार बसेको आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले गभर्नर नियुक्तिमा सिफारिस समितिले उपयुक्त पात्र छान्न पाउने सम्भावना कम रहेको बताएका हुन् । ‘राष्ट्र बैंकको नियुक्तिमा दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर समिति बसाएर एउटा रबर स्ट्याम नियुक्ति हुने होला ।’ वाग्लेले भने ।
साथै फरक प्रसंगमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन्। सरकार गठनको क्रममा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ।
सांसद वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए।







