काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताबाट प्राप्त मतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न प्रेरित गरेका छन्।

मंगलबारबाट सुरु भएको सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा वाग्लेले संसद्मा काम गर्दा ध्यान दिनुपर्ने विषयहरू पुन अध्ययन गर्न सांसदहरूलाई आग्रह गरेका थिए।

उनले पार्टीका धारणाहरू र वाचापत्रको सामग्रीलाई फेरि ध्यानपूर्वक पढ्नुपर्ने बताउँदै, अध्ययनलाई “फेरि कलेज जाने जस्तो चरण” को रूपमा वर्णन गरे। वाग्लेका अनुसार, यो प्रक्रिया केही आधारभूत दस्तावेजको फ्रेमवर्कसँग जोडिएको छ र सांसदहरूले व्यक्तिगत समस्यामा होइन, प्रणाली सुधारमा ध्यान दिनुपर्छ।

वाग्लेले भने, “थिति बसाल्ने संकल्प, सिस्टम सुधार र राजनीतिमा स्थायित्व ल्याउने काम हाम्रो जिम्मेवारी हो। नेपाली जनताले हामीलाई यो म्यान्डेट दिएर पठाउनुभएको छ, त्यसैले सजग रहनुपर्छ।”

उनले नयाँ सरकारको काम र संसद्मा सांसदको भूमिकामा ध्यान दिन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदै भने “तपाईहरूको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु र सरकारको कार्यको निगरानी गर्नु हो।”

साथै, प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो र मागलाई उठाउने र विकास निर्माणका गतिविधिमा ध्यान दिनुपर्ने वाग्लेले जोड दिए।