काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ आज शनिबार बाँडफाँड भएको छ । सिभिल क्यापिटल मार्केटले आज आइपीओ बाँडफाँड गरेको हो ।

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता शेयर रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमध्य ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। उक्त आइपीओमा योग्य आवेदकमध्ये २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

कम्पनीले यहीँ असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले कूल १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गरेर बाँकी रहेकोमध्ये ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।